बारा, २० असोज । बाराको अमलेखगञ्जमा रहेको तीन नम्बर पुल नजिक बस दुर्घटना हुँदा अहिलेसम्म १४ जनाको ज्यान गएको छ भने २० जनाभन्दा धेरै गम्भीर घाइते भएका छन् ।
बस दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई हेटौँडाका अस्पताल पु¥याएपछि डाक्टरहरूले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा ठूलो चोटपटक लागेकाहरूलाई उपचार गर्न हेटौँडाका निजी र सरकारी अस्पतालमा ल्याएपछि १४ जनालाई डाक्टरले मृत्यु भएको घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) वामदेव गौतमले बताउनुभयो ।
हेटौँडा अस्पतालमा मात्रै १२ जनाको ज्यान गएको हो ।
चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा थप एक–एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी गौतमले जानकारी दिनुभयो । उनीहरूको सनाखत हुन बाँकी छ ।
दुर्घटनाका घाइतेहरूको चुरेहिल, हेटौँडा र सन्चो अस्पतालमा उपचार भइरहेको छ । केही घाइतेलाई भरतपुर अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।
नारायणगढबाट पथलैया जाँदै गरेको बा प्र. ०६–००१ ख ०१० नम्बरको बस दुर्घटनामा परेको हो ।
बसमा ५१ जना यात्रु रहेका प्रहरीले बताएको छ । जितपुरसिमरा उपमहानगरपालिका २२ मा बस दुर्घटना भएको हो ।











