भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकार प्रतिबद्धः प्रधानमन्त्री देउवा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १९

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

बडादसैँको अवसरमा आज शुभकामना दिँदै उहाँले सरकारको यो प्रयासमा सबै राजनीतिक दल, आमनागरिक सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज र सञ्चार क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । आवधिक निर्वाचनले लोकतन्त्रलाई मजबुत, सक्षम र सबल बनाउने उहाँको भनाइ छ ।

प्रधानमन्त्री देउवाले ताजा निर्वाचनबाट सरकार गठन भएपछि संविधानमा उल्लेख भएका नीति तथा कार्यक्रम थप प्रभावकारी ढङ्गले कार्यान्वयन भई मुलुकमा जनताको चाहना र अपेक्षाबमोजिम विकास र समृद्धिका कार्यहरूले गति लिने विश्वास पनि व्यक्त गर्नुभयो । सन्देशमार्फत उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना समेत गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले चाडपर्व समाजका अमूल्य सांस्कृतिक धरोहर भएको उल्लेख गर्दै धार्मिक–सांस्कृतिक चाडपर्वहरूले हाम्रो समाजलाई गतिशील, जीवन्त र एकताबद्ध बनाउने विश्वास व्यक्त गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्