नवमीदेखि पूर्णिमासम्म नै पानी पर्ने सम्भावना

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ असोज । दसैँको नवमीदेखि पूर्णिमासम्म पानी पर्ने सम्भावना रहेकाले बाढीपहिरोको जोखिम बढ्ने देखिएको छ ।

आज र भोलि दिउँसो घाम लागे पनि पर्सि नवमीदेखि भने देशभर पानी पर्ने प्रणाली भित्रन लागेकाको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

उहाँका अनुसार केही ठाउँमा निकै ठूलो वर्षा हुने सम्भावना छ । अहिले बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमतर्फ सर्दै गरेकाले यो प्रणालीको असर नवमीदेखि पर्ने अनुमान गरिएको छ ।

यसको प्रभावले नवमीदेखि पूर्णिमासम्म नै देशका धेरै ठाउँमा हल्कादेखि मध्य वर्षा हुँदा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको मोसमविद् पौडेलले बताउनुभयो ।

योसँगै नेपालबाट आज मनसुन बाहिरिनुपर्ने भएपनि ढिला हुने भएको छ । यो वर्षको मनसुन गत जेठ २८ गते भित्रिएको थियो । पानी पर्ने क्रम अब बढ्दै जाने भएकाले खेतीपातीको काम गर्दा सचेत हुन पनि पौडेलले आग्रह गर्नुभयो ।

विशेषगरी अहिले तत्काल धान नकाट्न र काटिहाले भित्र्याइहाल्न पनि उहाँको सुझाव छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्