विराटनगर, ५ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानविपरीत भएको भन्दै नेकपा एमाले पुनः सर्वोच्च अदालत जाने भएको छ।
संविधानका धारालाई छलेर मुख्यमन्त्री थापाले जबरजस्ती विश्वासको मत पाएको घोषणा गरिएकाले सर्वोच्च अदालत जाने तयारी रहेको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले जानकारी दिनुभयाे।
सोमबार आफैंले मुख्यमन्त्रीले विश्वासको प्रयोजनका लागि बोलाइएको बैठक छलेर प्रदेशसभाकी सभामुख सिर्जना दनुवार काठमाडौँ हिँडेपछि र अध्यक्ष मण्डलमा रहेका एमाले र राप्रपाका ज्येष्ठ सदस्य बैठकमा उपस्थित नभएपछि मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक अध्यक्ष मण्डलमा रहेका काँग्रेस सांसद इस्राइल मन्सुरीले सञ्चालन गर्नुभएकाे थियाे।
उनै सांसद मुन्सरीले विश्वासको मत लिने बैठक सञ्चालन गरी मतदानको प्रक्रिया अन्तिम चरणमा पुगेका वेला अध्यक्षको आसनमा अध्यक्ष मण्डलमा रहेकी गीता तिम्सिनालाई बोलाएर आफूले मतदान गर्नुभएकाे थियाे । मन्सुरी समेतको मतको आधारमा मुख्यमन्त्री थापाले ४७ मत प्राप्त गरी प्रदेशसभामा विश्वसको मत पाएका थिए भने विपक्षमा ३० मत परेको थियो।
सभाध्यक्षको मतदानबाट विश्वासको मत पाएको भन्दै त्यसविरुद्ध एमाले अदालत जान लागेको हो।











