पोखरा । कास्कीको पर्यटकीय गन्तव्य मर्दी हिमाल पदयात्रामा निस्किएका पोखराका तीन जना युवा सम्पर्कविहीन भएका छन्। उनीहरू माछापुच्छ्रे गाउँपालिका–९ स्थित बादलडाँडा क्षेत्रको जंगलमा हराएको आशंका गरिएको छ।
प्रहरीका अनुसार उनीहरू बाटो बिराएर अलपत्र परेको हुन सक्ने अनुमान गरिएको छ।
कास्की प्रहरीका सूचना अधिकारी तथा डीएसपी वीरेन्द्र पासवानका अनुसार बुधबार बिहान करिब ८ बजेसम्म उनीहरूसँग सम्पर्क भएको थियो। त्यसपछि भने उनीहरूको मोबाइल बन्द रहेको र सम्पर्क हुन नसकेको उनले बताए।
‘बिहान ८ बजेतिर अन्तिम पटक सम्पर्क भएको थियो। त्यसपछि सम्पर्क हुन सकेको छैन,’ डीएसपी पासवानले भने, ‘उक्त क्षेत्रमा मोबाइल नेटवर्क पनि कमजोर रहेकाले लोकेसन ट्र्याक गर्न समस्या भइरहेको छ।’
सम्पर्कविहीन हुनेमा पोखरा–१४ खसिबजारका २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २३ वर्षीय दीपेश गुरुङ रहेका छन्।
प्रहरीले बिहान ११ बजे उनीहरू हराएको सूचना प्राप्त गरेलगत्तै खोजी टोली परिचालन गरेको जनाएको छ। प्रहरीसँगै स्थानीय पर्यटन व्यवसायी र बासिन्दाको टोली पनि उनीहरूको खोजीमा जुटेको छ।










