कम्युनिस्ट आन्दोलनको एउटा चरण पूरा भयो, नयाँ पुनर्गठन आवश्यक छ : विप्लव

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कम्युनिस्ट आन्दोलनको एउटा चरण पूरा भएको टिप्पणी गर्दै नयाँ दृष्टिकोणसहित पुनर्गठन आवश्यक रहेको बताएका छन्।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विप्लवले सबै कम्युनिस्ट पार्टीभित्र आन्दोलनको आगामी दिशाबारे बहस भइरहेको बताए। उनले कुनै एक दल वा नेताले मात्र कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन नसक्ने दाबी गरे।

‘सबै कम्युनिस्ट पार्टीहरूमा एउटा बहस चलिरहेको छ। कुनै एक दल वा एउटा नेताले मात्रै लिएर जाने कम्युनिस्ट आन्दोलन देखिँदैन। नयाँ कम्युनिस्ट केन्द्र नेपालको एउटा स्पष्ट दृष्टिकोणसहित कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्नुपर्छ,’ उनले भने, ‘नयाँ घोषणापत्र र नयाँ दृष्टिकोणसहित अघि बढे मात्रै कम्युनिस्ट आन्दोलन युवाहरूको बीचबाट फेरि उठ्न सक्छ।’

विप्लवले पछिल्लो दुई दशकमा कम्युनिस्ट नेता र पार्टीहरूबाट भएका कमजोरीका कारण जनमत घटेको बताए। उनले विगतमा करिब ७० प्रतिशत रहेको कम्युनिस्ट जनमत अहिले २२–२५ प्रतिशतमा सीमित भएको दाबी गर्दै आन्दोलनलाई नयाँ अवधारणा र दृष्टिकोणसहित रूपान्तरण गर्नुपर्ने बताए।

यसैबीच, उनले बालेन शाह नेतृत्वको सरकारको भविष्यबारे पनि टिप्पणी गरेका छन्। उनले सरकारको ‘दिनगन्ती सुरु भएको’ जस्तो देखिए पनि त्यसको वास्तविक अवस्था समयसँगै स्पष्ट हुने बताए।

‘कति यथार्थ हो, कति काल्पनिक हो, हेर्नुपर्छ। तर विभिन्न बौद्धिक, विज्ञ, बुद्धिजीवी, राजनीतिज्ञ र कूटनीतिज्ञबीच यो सरकारको दिनगन्ती सुरु भइसकेको जस्तो देखिन्छ,’ उनले भने।

विप्लवले दसैँ–तिहारअघि वा पछि सरकार परिवर्तन हुन सक्ने चर्चा भइरहेको उल्लेख गर्दै सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्