पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : पूर्वमहानिर्देशक प्रदीप अधिकारी ३ लाख धरौटीमा रिहा गर्न आदेश

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई राजस्व छुट दिएको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्य हेमन्त रावल र विदुर कोइरालाको इजलासले अधिकारीलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।

यद्यपि, अधिकारी अन्य मुद्दामा पनि थुनामा रहेकाले यस मुद्दामा धरौटी बुझाए पनि तत्काल थुनामुक्त भने हुन नपाउने उनले स्पष्ट पारिन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाखमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

अख्तियारका अनुसार ठेक्का सम्झौतामै ठेकेदार कम्पनीले राजस्व तिर्नुपर्ने व्यवस्था हुँदाहुँदै त्यसविपरीत राजस्व छुट दिइएको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो।

यस मुद्दामा अख्तियारले ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो दाबी गरेको छ। यसअघि यही मुद्दाका अन्य आरोपितहरू भने धरौटीमा छुटिसकेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्