बर्दिया । बर्दियामा दुर्घटनामा परेका आफ्नै साथीको हत्या गरेको आरोपमा मोटरसाइकल चालक पक्राउ परेका छन्।
गत साउन १५ गते राति करिब २ बजे ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वाराबाट हात्तीसारतर्फ जाँदै गरेको लु.प्र.००१–०१२ प ०८२५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक डोटीको शिखर नगरपालिका–४ स्थायी घर भई हाल ठाकुरबाबा नगरपालिका–७ कालीगौडी बस्दै आएका करिब २० वर्षीय गोविन्द जैसी घाइते भएका थिए।
मोटरसाइकलको पछाडि सवार ठाकुरबाबा–९ बेथहनी गाउँका २७ वर्षीय आशाराम थारु दुर्घटनापछि सम्पर्कविहीन भएका थिए।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले साउन १७ गते ठाकुरद्वाराबाट कुशलपुरतर्फ जाने सिँचाइ नालामा घोप्टो परेको अवस्थामा आशारामको शव फेला पारेको थियो।
प्रहरीका अनुसार दुर्घटनापछि घाइते भएका आशारामलाई उद्धार गर्नुको सट्टा चालक गोविन्द जैसीले निर्माणाधीन घरको सटरिङको काठ र मोटरसाइकलको चाबीले प्रहार गरेका थिए। त्यसपछि आशारामले लगाएको माला र डोरी प्रयोग गरी घाँटी थिचेर हत्या गरेको आरोप छ। हत्या गरेपछि शव सिँचाइ नालामा फालेर उनी घटनास्थलबाट फरार भएका थिए।
प्रहरीले गोविन्द जैसीलाई पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।










