काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डेले गोकर्णस्थित बागमती करिडोर विस्तारको काम नेपाली सेनासँग समन्वय र सहकार्य गरेरै सम्पन्न गरिएको स्पष्ट पारेका छन्।
मंगलबार विज्ञप्ति जारी गर्दै उनले सडक विस्तारका क्रममा सम्बन्धित नेपाली सेनाको टुकडीलाई आवश्यक जानकारी पुग्न केही मिनेट ढिलाइ हुँदा प्रारम्भिक रूपमा केही असहज अवस्था सिर्जना भएको स्वीकार गरे। तर त्यसपछि नेपाली सेनाका प्रमुख सेनानीसँग छलफल र समन्वय भएपछि सेनाकै पूर्ण सहयोगमा करिडोर विस्तारको काम सम्पन्न भएको उनको भनाइ छ।
पाण्डेका अनुसार उक्त कार्य काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न गरिएको हो।
सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले करिडोर विस्तारका क्रममा सेनाका एक अधिकृतलाई समयमै जानकारी नपुग्दा केहीबेर समन्वयमा समस्या देखिए पनि त्यसपछि सेनासँग मिलेर नै काम अघि बढाइएको बताए।
उनले निर्वाचन अभियानका क्रममा स्थानीयवासीले राखेको मागअनुसार अधिकार सम्पन्न बागमती, काठमाडौं उपत्यका विकास प्राधिकरण (केभिडिए) र नेपाल ट्रस्टसँग समन्वय गरेर डोजर प्रयोग गरी बाटो खोलिएको उल्लेख गरे।
करिडोर विस्तारका क्रममा त्यहाँ नेपाली सेनाको टुकडी रहेको जानकारी पाएपछि समन्वयको जिम्मेवारी अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्षलाई दिइएको पनि उनले बताए।
बाहिर सार्वजनिक भएका भिडियोहरू समन्वय हुनुअघि केही मिनेटको अवस्थाका मात्रै रहेको दाबी गर्दै उनले त्यसपछि सेनासँगको सहकार्यमा नै काम सम्पन्न भएको जिकिर गरे।
सामाजिक सञ्जाल र सञ्चारमाध्यममा वास्तविकता नबुझी भ्रम फैलाउने, संस्थाहरूबीच अनावश्यक विवाद सिर्जना गर्ने वा तथ्यभन्दा फरक निष्कर्ष प्रस्तुत नगर्न सबैलाई संयमता अपनाउन उनले आग्रह गरेका छन्।










