काठमाडौं । विपक्षी दलहरुले सुनसरी घटनाको छानबिन गर्न न्यायिक समितिको माग गरेका छन्।
आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीको नेतृत्वमा स्थायी प्रकृतिको सर्वदलीय सर्वधार्मिक र नागरिक संवाद संयन्त्र गठन गर्न माग गरे।
उनले निष्पक्ष अनुसन्धान गरी घटनाको कारण, सुरक्षा कमजोरी, अफवाहको भूमिका र राज्यको प्रतिक्रिया सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न समेत माग गरे।
एमाले सांसद गुरु बरालले पनि पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गर्न माग गरे।
उनले ४ जनाको हत्याको जिम्मा नैतिक रूपमा प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताए।
नेकपाकी सांसद बलावती शर्माले घटनाको सत्यतथ्य छानबिन गर्न माग गरिन्। सुनसरीको देवानगन्जमा भएको घटना र त्यसपछि मधेसभरि फैलिएको साम्प्रदायिक भड्कावको सत्यतथ्य छानबिनका लागि एक विश्वसनीय आयोग गठन गर्न माग गरिन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि घटनाको छानबिन हुनुपर्ने बताए। उनले छानबिन गरेर सत्यतथ्य सार्वजनिक गरेर दोषीलाई कारबाही गर्न माग गरे।










