बडादसैँ आजबाट सुरु, घरघरमा जमरा राखिँदै

खबर बुक
  • ख-
  • ख+

नेपालीहरूको महान पर्व बडादसैं आजबाट सुरु भएको छ ।

आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन बिहान घरघरमा जौ, मकै , गहुँ आदिको जमराराखी घटस्थापना गरेपछि दसैंको सुरुवात भएको मानिन्छ ।

धेरैले बिहानको समयमा घटस्थापना गर्ने भए पनि साइतै खोज्नेहरूका लागि भने नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाका लागि बिहान १० बजेर २३ मिनेटको शुभसाइत तोकेको छ ।

फुर्सद हुने र साइत खोज्नेले बिहान १० बजेर २३ मिनेटकोे शुभ समयमा जमरा राखेर घटस्थापना गर्दा राम्रो हुने समितिका सदस्य प्रा.डा. देवमणी भट्टराईले जानकारी दिनुभयो ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने दसैंलाई असत्यमाथि सत्यको विजयका रूपमा लिने गरिन्छ । घटस्थापनाको दिन पूजाकोठा, दसैंघर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ । कतैकतै भने ब्रह्माको पनि स्थापना गरिन्छ ।

घटस्थापनाका दिन पूजा कोठामा घंैटो अथवा घडामा जलभरि माथिपटि आँप, चाप, वरपिपलको पात राख्ने परम्परा छ । यो घडा वरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने चलन छ ।

जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मनपर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको शास्त्रमा उल्लेख छ ।

यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रूपमा लगाउने गरिन्छ । विभिन्न नौ देवीको पूजा अर्चनापश्चात दशमीका दिन त्यहाँबाट जमरा निकालिन्छ भने पूर्ण कलशको जलको अभिषेक पनि लिने चलन छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार असोज १९ गते बुधबार विजया दशमीका दिन टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्