ओस्कारमा नेपालबाट ‘ऐना झ्यालको पुतली’ सिफारिस

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, ३ असोज,अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डको ९५औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ सिफारिस गर्ने निर्णय गरेको छ ।
समितिको सोमबार बसेको बैठकले समितिलाई प्राप्त फिल्ममध्येबाट ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गरेको हो ।

नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई २०७९ भदौ ३० गतेभित्र फिल्म बुझाउन आग्रह गरेको थियो ।

सोही सूचना अनुसार नेपालबाट दिनेश राउत निर्देशित प्रकाश, सुवर्ण थापा निर्देशित राधा र सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ले सहभागिताका लागि आवेदन दिएका थिए ।

समितिले प्राप्त तीन फिल्ममध्ये सिनेमाको प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई ख्याल गरी ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

ओस्कर अवार्ड आगामी १२ मार्चमा लस एञ्जल्सको डल्बी थिएटरमा सम्पन्न हुनेछ । नेपालमा विमल पौडेलको अध्यक्षतामा आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म छनोट समिति रहेको छ ।

समितिमा लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, सामीप्यराज तिमल्सेना, लोकेन्द्र पराजुली ‘कपील’, चिरञ्जीवी गुरागाईं सदस्य रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्