काठमाडौं, बैशाख १५ । अर्थमन्त्री डा प्रकाशशरण महतले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने मन्त्रालयबाट हालसम्म कुनै निर्णय नभएको स्पष्ट पार्नुभएको छ ।
शुक्रबार सिंहदरबारमा सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई सरकारले जनही रु दुई लाख रकम उपलब्ध गराउन लागेको भन्दै राष्ट्रिय युवा सङ्घ, नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री महतले यस विषयबारे आफू जानकार नरहेको र अर्थ मन्त्रालयबाट हालसम्म यसबारे कुनै निर्णय नभएको बताउनुभएको हो ।
अर्थमन्त्री महतले अयोग्य लडाकु व्यवस्थापनको विषय चालू आर्थिक वर्षको बजेटमा राखिएको भए पनि त्यसबारे अर्थमन्त्रालयबाट रकम बिनियोजनका बिषयमा निर्णय नभएको जिकिर गर्नुभयो । बजेटको व्यवस्थाअनुसार कार्यविधि गृह मन्त्रालयले अघि बढाएको हुनसक्ने भन्दै उहाले आफुले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि कुनै निर्णयमा संलग्न नरहेको र जानकारी पनि बताउनुभयो । उहाले सरकारबाट अनावश्यकरुपमा राज्यको सम्पत्ति दुरुपयोग हुने विषयमा कुनै शङ्का नगर्न पनि आग्रह गर्नुभयो ।
अयोग्य लडाकुका नाममा राज्यको ढुकुटीबाट पैसा बाँड्न नहुने भन्दै राष्ट्रिय युवा सङ्घ, नेपालले अर्थमन्त्री महतलाई सातबुँदे ज्ञापनपत्र बुझाएको छ । उनीहरुले उक्त निर्णय कार्यान्वयन नगर्न पनि माग गरेका छन् ।
सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७९ प्रति गम्भीर ध्यानाकर्षण भएको युवा संघको विज्ञप्तीमा उल्लेख ।










