काठमाडौं, ६ वैशाख । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकमा राजनीतिक स्थीर हुन नसकेका कारण अनेक समस्या उत्पन्न भएको बताउनुभएको छ ।
जनप्रचार तथा प्रकाशन प्रालिले बुधबार काठमाडौंमा गरेको राजनीतिक अस्थिरता, आर्थिक संकट र सञ्चारको दायित्व बिषय अन्तक्र्रिया कार्यक्रममा विप्लवले कुनै एक सरकारले पूर्णकालीन काम गर्न नपाउने गरि मुलुकमा राजनीतिक अस्थीरता देखिएको र यसको असर मुलुकको आर्थिक लगाएत बिभिन्न क्षेत्रमा देखिएको बताउनुभएको हो ।
अहिले पनि पछिल्लो निर्वाचनपछि सरकारले पूर्ण आकार पाउन नपाउदै सरकार परिवर्तनको खेल सुरु भइसकेको उहाले बताउनुभयो । उहाले पछिल्लो १५ बर्ष मुलुकको नेतृत्वमा बसेकाहरुले देशलाई अघि बढाउन नसकेको आरोप लगाउनुभयो । मुलुकको राज्यप्रणाली संकटग्रस्त भए उद्धारका नाममा आउने विदेशी शक्तिहरुले सम्पूर्ण देश नै कव्जा गर्ने खतरा रहेको उहाको भनाइ छ ।
फरक प्रसंगमा विप्लवले मुलुकको परिवर्तनका लागि योगदान गर्नेहरुलाई अपराधिकरण गर्न खोजिए दुर्दशा निम्तने चेतावनी दिनुभयो । उहाले परिवर्तनका अगुवालाई अपराधि घोषित गर्न खोजिए कांग्रेस एमाले लगाएतका कोहि नेता नवच्ने स्पष्ट पार्नुभयो ।
उहाले एकतावद्ध भएर संकटलाई निकास दिन आफ्नो पार्टी तयार रहेको जिकिर गर्नुभयो । अहिलेको राज्य प्रणालीले जनचाहनाको प्रतिनिधित्व गर्न नसकेको प्रति सिंगो समाज प्रष्ट रहेको उहाले बताउनुभयो ।










