कोरोना सङ्क्रमण देखिएमा सात दिनसम्म आइसोलेशनमा बस्न आग्रह

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ६ वैशाख ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गर्नुभएको छ ।

उहाँका अनुसार कुनै पनि लक्षण नरहेको, पाँच दिनसम्म आइसोलेशनमा बसेको वा पाँच दिनभन्दा बढी बसेको, २४ घण्टाभित्र ज्वरोको औषधि नखाई नै ज्वरो कम भएको भए भने आइसोलेशनमा बस्नुपर्दैन । सात दिनसम्म आइसोलेशनमा बसेर आठौँ दिनमा बाहिर निस्के पनि अरू मानिसको सम्पर्कमा नजानसमेत आग्रह गरिएको छ ।

मन्त्रालयले आइसोलेशनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने तथा बेला–बेलामा साबुन पानीले हात धुन आग्रह गरेको छ ।

अहिले दैनिक कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । हिजो मङ्गलवार एक सय ७१ जनामा सङ्क्रमण देखिएकाेमा दुई जना सङ्क्रमितकाे ज्यान गएकाे थियाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्