निमोनियाले सिकिस्त १६ महिने बालकलाई थप उपचारका लागि काठमाडाैं पठाइयाे

खबर बुक
  • ख-
  • ख+

खोटाङ, २७ भदौ । खोटाङमा निमोनियाले सिकिस्त बनेका १६ महिने बालकलाई खर्च जुटाएर अस्पताल लगिएको छ ।

दिप्रुङ चुईचुम्मा गाउँपालिका-३ छोरम्बु ठेगाना भई हाल दिप्रुङ चुईचुम्मा गाउँपालिका-१ याम्खा बस्दै आएका रोजन राई र मनिला राईको १६ महिने बच्चा रेवन राईलाई शुभेच्छुक तथा जिल्ला अस्पतालको सहयोगमा काठमाडौं लगिएको हो ।

निमोनियाले सिकिस्त बनेका बालकलाई आइतबार ११ बजे जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । तर श्वास फेर्न गाह्राे भएपछि र औषधिले स्वास्थ्यमा सुधार नभएपछि अस्पतालले बालकलाई तत्काल अन्यत्र लैजान रेफर गरेको थियो ।

आर्थिक अभावमा दिनभर जिल्ला अस्पतालमै अल्झिएका बालकलाई राति ११.१५ बजे काठमाडाैं पठाइएको हो । पत्रकारद्वय कृष्णकला राई र सञ्जीव राईको पहलमा आर्थिक सहयोग तथा जिल्ला अस्पतालको नवजात शिशु रेफरल फन्डबाट एम्बुलेन्समा लाग्ने २० हजारमध्ये १५ हजार भाडा छुट गराएर बालकलाई अस्पताल पठाइएको हो । अस्पतालले उपचारमा पनि छुट दिएको छ ।

पत्रकारद्वयले बालकको उपचारमा समस्या भएको समाचार सामाजिक सञ्जालमार्फत उजागर गरेका थिए । त्यसपछि शुभेच्छुक चिरञ्जीवी रिजालबाट पाँच हजार, राजकुमार राईबाट पाँच हजार, विमला राईबाट दुई हजार र किसन राईबाट एक हजार आर्थिक सहयोग जुटेको छ । बिरामी बालकलाई कान्ति बाल अस्पतालमा भर्ना गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्