सडकपेटीमा सुत्केरी भएको प्रकरण : चिकित्सकसहित ६ जना कामकाजबाट हटाइए

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । रगत परीक्षणका लागि आवश्यक १ हजार २ सय रुपैयाँ नपुगेपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको छेउकै सडकपेटीमा बबिताकुमारी पासवान सुत्केरी भएको प्रकरणमा एक चिकित्सकसहित ६ जनालाई कामकाजबाट हटाइएको छ ।

घटनापछि गठित छानबिन समितिहरूको प्रतिवेदन सार्वजनिक नहुँदासम्मका लागि एक चिकित्सक, दुई स्वास्थ्यकर्मी र तीन जना कर्मचारीलाई कामकाजबाट हटाइएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जितकुमार झाले जानकारी दिएका छन् ।

कामकाजबाट हटाइएकी चिकित्सक डा. उषा देव पासवान सुत्केरी हुँदाको राति आवश्यक परे फोन गरेपछि अस्पताल आउने चिकित्सकका रूपमा कार्यरत थिइन् । तर, उक्त घटनाका विषयमा अस्पतालबाट आफूलाई कुनै फोन नआएको डा. देवले बताएकी छन् ।

उनले घटना बिहीबार मात्रै थाहा पाएको र छानबिन समितिलाई पनि सोही व्यहोराको लिखित जवाफ दिएको बताइन् । अस्पताल प्रशासनसँग बुझ्दा ‘माथिबाट नै त्यस्तो भएको’ जवाफ पाएको भन्दै उनले दुःख व्यक्त गरेकी छन् ।

अस्पताल प्रशासनले डा. देवसहित स्टाफ नर्स मनीषाकुमारी साह र सजन चौधरी तथा कार्यालय सहयोगी रेणु ठाकुर, स्वीपर कृष्णा मेहतर र सुरक्षा गार्ड देवकान्त झालाई कामकाजबाट हटाएको हो ।

तर, ‘गाइने वार्ड’ को व्यवस्थापन तथा नेतृत्व, बिरामीको प्रत्यक्ष हेरचाह, सुरक्षा, परामर्श र समन्वयको जिम्मेवारीमा रहेकी ‘गाइने इन्चार्ज’ भने कामकाजमै रहँदा अस्पताल प्रशासनको विरोध भइरहेको छ ।

अस्पतालमा कृष्णा यादव ‘गाइने इन्चार्ज’ का रूपमा कार्यरत छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्