काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर सडकपेटीमै एक महिलाले शिशु जन्माएको घटनामा ड्युटीमा रहेका कर्मचारीलाई जिम्मेवारीबाट हटाएर सरकारले छानबिन सुरु गरेको छ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताइन्। उनले घटनाका बेला ड्युटीमा रहेका अस्पतालका कर्मचारीलाई तत्काल कामकाजबाट हटाइएको र उनीहरूमाथि छानबिन भइरहेको संसद्लाई जानकारी गराइन्।
पाँच सदस्यीय टोली राजविराजमा
मन्त्री मेहताका अनुसार घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज पुगिसकेको छ।
टोलीमा स्वास्थ्य मन्त्रालयका तर्फबाट स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाका प्रमुख डा. पवनजङ्ग रायमाझी पनि सहभागी छन्। घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय सप्तरीबाट समेत छुट्टै छानबिन समिति गठन भइसकेको मन्त्री मेहताले जानकारी दिइन्।
अस्पतालको स्पष्टीकरण : ‘जाँच गर्नुभन्दा बाहिरिएर गेटमै सुत्केरी भइन्’
मन्त्रालयले घटनालगत्तै अस्पतालसँग २४ घण्टे स्पष्टीकरण मागेको थियो। अस्पतालले मन्त्रालयलाई बुझाएको प्रारम्भिक विवरण उद्धृत गर्दै मन्त्री मेहताले भदौ २४ गते बिहान करिब २ बजे प्रसव व्यथा लागेपछि ३० वर्षीया बबिताकुमारी पासवान अस्पताल आएको बताइन्।
अस्पतालका अनुसार प्रारम्भिक जाँचपछि उनलाई प्रसूति वार्डको बेड नम्बर २४ मा भर्ना गरिएको थियो। आवश्यक जाँचसम्बन्धी पुरानो रिपोर्ट नभएकाले स्वास्थ्यकर्मीले केही आवश्यक परीक्षण गर्न सुझाव दिएका थिए।
तर त्यसपछि बिरामी र कुरुवा शय्यामा नरही अस्पतालबाट बाहिरिएको र बिहान ४ः४५ बजे अस्पतालको मूल गेटबाहिरै प्रसूति भएको जानकारी प्राप्त भएको मन्त्रीले बताइन्।
प्रसूति भएपछि आमा र नवजात शिशुलाई सालनालसहित पुनः प्रसूति वार्डमा ल्याइएको थियो। ड्युटीमा रहेका स्वास्थ्यकर्मीले नाल काटेर आवश्यक स्वास्थ्य स्याहार तथा उपचारका लागि अस्पतालमै बस्न अनुरोध गरे पनि उनीहरू अस्पतालबाट बाहिरिएको अस्पतालको दाबी छ।










