काठमाडौँ । भोटेकोशी बाढीका क्रममा विभिन्न स्थानमा अलपत्र परेका ३० जनाको नेपाली सेनाले बिहीबार हेलिकप्टरमार्फत जीवित उद्धार गरेको छ ।
सैनिक मुख्यालयले जारी गरेको अपडेटअनुसार बाढीपछि हालसम्म हेलिकप्टरमार्फत ४ हजार १११ जनाको जीवित उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ८२८ जना नेपाली र २८३ जना विदेशी नागरिक छन् ।
विभिन्न जलविद्युत् आयोजनाका टनेलमा पनि नेपाली सेनाले खोज तथा उद्धार कार्य जारी राखेको छ । रसुवागढी जलविद्युत् आयोजनामा कम्पोजिट क्वीक रियाक्सन टिम तथा आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोली पावरहाउस, ट्रान्सफर्मर रुम र कन्ट्रोल पोइन्टसम्म पुगेको छ । लाङटाङ हाइड्रोमा सेनाका २५ जनाको टोलीले टनेलभित्र खोजी गरिरहेको छ ।
चिलिमे हाइड्रोमा विदेशी नागरिकसहितको संयुक्त टोलीले टनेलभित्रको लेदो हटाइरहेको छ । हेभी इक्विपमेन्ट लैजान ब्लास्टिङ गरी बाटो निर्माण भइरहेको र टनेलसम्म पुग्न ३५ मिटर बाँकी रहेको सेनाले जनाएको छ। सडकको ट्र्याक खोल्ने काम भने सम्पन्न भएको छ ।
माथिल्लो त्रिशूली–१ को हाकुबेशीस्थित अडिट–१ टनेलमा पनि सेनाको टोलीले खोजी गरिरहेको छ । त्रिशूली–३ ‘ए’को पावरहाउस तथा टनेल क्षेत्रमा संयुक्त टोली र त्रिशूली–३ ‘बी’मा पनि संयुक्त टोलीबाट खोजी कार्य भइरहेको छ ।
जमिनतर्फ पनि रसुवा र नुवाकोटका त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङलगायत प्रभावित क्षेत्रमा पैदल गस्तीमार्फत खोजी जारी रहेको सेनाले जनाएको छ ।
सेनाले त्रिशूली र धुञ्चेमा स्थापना गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट बिहीबार २१ जनाले स्वास्थ्य सेवा पाएका छन् । सेनाका अनुसार हालसम्म ३ हजार ५८० जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ हजार ८ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन भएका छन् । उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सुचारु र आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन् ।
तादी खोलामा सेनाले जडान गर्यो ५७.९ मिटर लामो पुल
भोटेकोशी बाढीबाट क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माणका क्रममा नेपाली सेनाले नुवाकोट–५, देवीघाटस्थित तादी खोलामा ५७.९ मिटर लम्बाइ र ५.५ मिटर चौडाइको एड्भान्स मोड्युलर प्यानल ब्रिज (एक्रो ब्रिज) जडान गरी सडक सुचारु गरेको छ।
अधिकतम ६० टन भारवहन क्षमता रहेको उक्त पुल सञ्चालनमा आएपछि नुवाकोट तथा आसपासका नागरिकको आवतजावत सहज भएको छ । साथै बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा अत्यावश्यक सामग्री ढुवानीमा समेत सहजता हुने सेनाले जनाएको छ।










