परराष्ट्रमन्त्री खड्का र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता, लुले आजै प्रधानमन्त्री देउवा भेट्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं। परराष्ट्रमन्त्री डा नारायण खड्कासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एशिया मामिलाका सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गर्नुभएको छ।

मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आर्थिक र विकास सहयोग, खाद्य सुरक्षा, कोभिड–१९ विरुद्धको खोपलगायत सहयोगका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

बिहीबार साँझ नेपाल आउनुभएका सहायक विदेशमन्त्री लुले यसअघि पनि गत मङ्सिरमा नेपालको भ्रमण गरिसक्नुभएको छ।

यो पटकको भ्रमणका अवसरमा उहाँले विभिन्न व्यावसायिक, नागरिक तथा सरकारी नेतृत्वसँग नेपाल–अमेरिका बीचको ७५ वर्षे लामो मित्रताका विविध आयामलगायत विषयमा कुराकानी गर्नुहुने यहाँस्थित अमेरिकी दूताबासले जनाएको छ।

सहायक विदेशमन्त्री लुले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नुहुने बताइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्