अदालतमा तुलसाको बयान : चिमोरिया र म अघोषित पति-पत्नी थियौँ, सबै सम्पत्तिको स्रोत तुल्सा कलेक्सन

खबर बुक
  • ख-
  • ख+

 २१ जेठ, काठमाडौं । टिकटकर तुलसी अधिकारी (तुलसा कलेक्सन) ले अदालतमा बयान दिँदै आफूलाई मुद्दा हाल्ने व्यवसायीसँग आफू अघोषित पति-पत्नीको रूपमा बसेको बताएकी छन् ।

उनले ती व्यवसायीलाई ब्ल्याकमेलिङ गरी ठूलो रकम लिएको आरोप भने अस्वीकार गरिन् ।

अदालतमा दिएको बयानमा तुलसाले आफू अटोमोबाइल क्षेत्रमा काम गर्दा चिमोरिया थरका व्यवसायीसँग चिनजान भएको बताएकी छन् । त्यसबेला आफू डिभोर्सी अवस्थामा रहेको र चिमोरियाले आफ्नी श्रीमतीलाई क्यान्सर भएको भनेर विवाहको आश्वासन दिएको उनको भनाइ छ ।

उनले भनेकी छन्, ‘जाहेरबालाले श्रीमती क्यान्सरको बिरामी छिन् भनी २०७५ सालतिर काठमाडौं बोलाई कोठा खोजी राख्नुभएको हो । हामी अघोषितरुपमा पति पत्नीका रूपमा बसेका थियौँ ।’

आफू सीतै रकम लिएर चिमोरियाले छोरीको फी बुझाउन लगेको उनको दाबी छ । आफ्नो नाममा खरिद गरिदिएको पसल निज आफैँले फिर्ता गरेको तुलसाले बताएकी छन् भने स्कुटर र सुनका गरगहना आफैँले खरिद गरेको दाबी गरेकी छन् ।

तुलसाको भनाइ अनुसार चिमोरियाले उनलाई विवाह गर्ने आश्वासन दिएर आफ्नै घरमा राखेका थिए । श्रीमतीलाई थाहा भएपछि घरबाट निकालेको र कुमारीपाटीमा रहेको पसल चिमोरियाले नै लिएको उनले बताएकी छन् ।

उनले भनेकी छन्, ‘मेरा भएका सम्पूर्ण सम्पत्तिको आयस्रोत नै मेरो तुल्सा कलेक्सनको आम्दानी हो । मैले चाइनामा समेत व्यापार गर्नका लागि तुल्सा कलेक्सन एक्सपोर्ट इम्पोर्ट नामक कम्पनी सञ्चालन समेत गर्छु । सम्पत्ति शुद्धीकरण गर्ने जस्ता कुनै पनि कार्यमा म सहभागी भएको आरोप झूटो हो ।’

आफ्नो पसल ५ लाखको पुँजीमा सुरु गरेको र पछि बढेको उनको भनाइ छ । ‘बढेको कारोबार थाहा नभएकोले देखाइनँ, त्यसका कारण मेरो कम्पनी घाटामा देखिए तापनि कारोबार रकम धेरै देखिएको हो, राज्यलाई अपुग कर रकम तिर्न तयार छु,’ उनले भनेकी छन् ।

आफ्नो छोरीको कम्पनीको बैंक खातामा रहेको रकम तथा विदेश आउजाउ गर्ने खर्चको स्रोत तुल्सा कलेक्सनको आम्दानी नै भएको उनले बताएकी छन् ।

अदालतले विभिन्न व्यक्तिहरूले गरेको मौकाको कागज ब्यहोरा, प्रहरीको प्रतिवेदन, प्रतिवादीले अदालतसमक्ष गरेको बया, तुल्सा कलेक्सन प्रालीको सम्बन्धित निकायमा पेश गरेको भनिएको आयव्यय विवरणमा घटी कारोबार देखाउनु, कम्पनीको कारोबार रकम तथा प्रतिवादीको बैंक खाताको रकम, घरजग्गा, सुनको विवरणलाई प्रतिवादीले आफ्नो भनी उल्लेख गरेको अवस्था आदिलाई हेरेर प्रतिवादी तुल्सा कसूरदार नरहेको भन्न नसकिने निष्कर्ष निकालेको छ । उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्