२२ जेठ, काठमाडौं । कालापानी नेपालको भएको भन्दै सडकमा शान्तिपूर्ण प्रदर्शनकै क्रममा पक्राउ परेका जेनजी आन्दोलनकारीमाथि हिरासतभित्र दुर्व्यवहार भएको छ ।
दुर्व्यवहार प्रहरीले नभएर पूर्वगृहमन्त्री सुधन गुरुङले गरेको राष्ट्रिय जेन्जी नागरिक अभियानले जनाएको छ ।
अभियानले वक्तव्य जारी गर्दै लैनचौर सोह्रखुट्टे हिरासतमा रहेका प्रदर्शनकारीमाथि गुरुङले हिरासतभित्रै गएर गालीगलौज,धम्की र दुर्व्यवहार गरेको जनाएको छ ।
हिरासतमा राखिएका अभियन्तालाई भेट्न पुगेका पूर्वगृहमन्त्री गुरुङले हिरासत कक्षमै प्रवेश गरी दबाबमूलक तथा अपमानजनक व्यवहार गरेको अभियानको आरोप छ ।
गुरुङले “तपाईँहरू कहाँबाट परिचालित हुनुहुन्छ?”, “यो अन्तिम मौका हो” र “अब सरकार र प्रहरीले समाते भने छोड्दैनौँ” जस्ता अभिव्यक्ति दिएको अभियानले जनाएको छ ।
उक्त व्यवहारले हिरासतमा रहेका नागरिकमाथि मानसिक दबाब सिर्जना गरेको दाबी गर्दै प्रहरी हिरासतमा रहेका व्यक्तिसँग प्रभावशाली राजनीतिक व्यक्तिले यस्तो व्यवहार गर्नु कानुनी शासन, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यता विपरीत भएको अभियानको ठहर छ ।
साथै, हिरासतमा रहेका नागरिकलाई २४ घण्टासम्म पर्याप्त खाना र पिउने पानीसमेत उपलब्ध नगराइएको भन्दै मानवअधिकार उल्लंघन भएको अभियानले आरोप लगाएको छ ।
अभियानले सरकारसमक्ष पाँच बुँदे माग राख्दै घटनाको निष्पक्ष छानबिन गर्न आग्रह पनि गरेको छ ।










