२१ जेठ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टी अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गर्ने निर्णय गरेको छ।
आज बसेको अनुशासन समितिको बैठकले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गरेको आरोप सम्बन्धी उजुरीहरूमाथि छानबिन गरेर यादवलाई निलम्बन गर्ने निर्णय गरेको समितिका सचिव दिनेश थापामगरले बताए।
समितिमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको भन्दै सकुन्ती देवी महरा, कौशल किशोर राय र जंगीलाल रायसँग स्पष्टीकरण मागेको थियो। उनीहरूले आफूमाथि लगाइएका आरोप निराधार रहेको भन्दै पार्टीविरुद्ध कुनै गतिविधिमा संलग्न नभएको जवाफ पेश गरेका थिए।
समितिले उनीहरूलाई भविष्यमा कुनै गुनासो नआउने गरी पार्टीको विधान, नियमावली र जिम्मेवारीप्रति पूर्ण प्रतिबद्धतासाथ कार्य गर्न निर्देशन दिएको छ।
यस्तै, बारा जिल्ला कार्यसमितिका उपसभापति अमिरीलाल राउत (पाल) विरुद्ध परेको उजुरीका सम्बन्धमा उनले पेश गरेको स्पष्टीकरण सन्तोषजनक रहेको र थप अध्ययनपछि आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकाल्दै सफाइ दिएको छ।










