कार्कीको पुनर्बहाली मागमा सर्वोच्चबाट तत्काल राहत मिलेन, सरकारसँग मागियो जवाफ !

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ । प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार बनाइएपछि दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाउनुको कारण पेश गर्न सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो।

साथै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफलका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ।

कार्कीले प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ विपरीत आफूलाई पदबाट हटाइएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उनले आफूलाई प्रहरी महानिरीक्षक पदमा पुनर्बहाली गर्न र नवनियुक्त महानिरीक्षकलाई कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश माग गरेका थिए।

कार्कीको तर्फबाट वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, पूर्णमान शाक्य, सचितकृष्ण खरेल, डा. दिनमणि पोखरेललगायतले अन्तरिम आदेशको माग गर्दै बहस गरेका थिए।

बालेन्द्र शाह नेतृत्वको सरकारले डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो।

अब सरकारको लिखित जवाफ र दुवै पक्षबीच हुने छलफलपछि सर्वोच्च अदालतले अन्तरिम आदेशबारे थप निर्णय गर्नेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्