सडकमा अस्पतालजन्य फोहर फालेपछि महानगरले तिरायो ५० हजार जरिवाना

खबर बुक
  • ख-
  • ख+

सडकमा आनधिकृत रुपमा अस्पतालजन्य फोहर फोहोर फालेपछि काठमाडौंं महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना तिराएको छ।

काठमाडौं महानगरपालिका–३१ आलोकनगरमा अनधिकृत रूपमा अस्पतालजन्य फोहर फालेपछि महानगरले औषधि उत्पादक कम्पनीलाई जरिवाना तिराएको हो।

आलोकनगरमा फालिएको अस्पतालजन्य फोहरको अनुगमन गर्ने क्रममा महानगर प्रहरी बलले दुईवटा कम्पनीको नाम उल्लेख भएका कागजात फेला पारेको थियो। तीमध्ये एउटा कम्पनीको ठेगाना भक्तपुर र अर्कोको ठेगाना टोखा नगरपालिकाको धापासीमा रहेको पाइएको छ।

सम्बन्धित स्थानहरू काठमाडौं महानगरपालिकाको भौगोलिक क्षेत्रभित्र नपर्ने भएकाले महानगर प्रहरी बलले कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं र भक्तपुरमार्फत प्रक्रिया अघि बढाएको हो।

महानगर प्रहरी बलले फोहरमैला व्यवस्थापन ऐन, २०६८ तथा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कसुर गर्ने व्यक्ति तथा संस्थालाई महानगरपालिकाको कार्यालयमा उपस्थित गराइदिन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो।

सोही अनुरोधका आधारमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमार्फत सम्पर्कमा आएको कम्पनीलाई महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गरेको हो।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँमार्फत झिकाइएको अर्को कम्पनीका अधिकारी भने हालसम्म सम्पर्कमा आएका छैनन्।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग र महानगर प्रहरी बलको संयुक्त टोलीले अनधिकृत रूपमा फोहर फाल्ने व्यक्ति तथा संस्थामाथि निगरानी बढाएको छ।

अनुगमनका क्रममा सार्वजनिक स्थानमा जथाभावी फोहर फालिरहेको भेटिए तत्काल जरिवाना गर्ने गरिएको महानगरले जनाएको छ।

त्यस्तै, सडक, सडक किनारा तथा अन्य सार्वजनिक स्थलमा फालिएको फोहरबाट त्यससँग सम्बन्धित प्रमाणसमेत खोजी गरी फोहर उत्पादन गर्ने व्यक्ति वा संस्थासम्म पुगेर कारबाही अघि बढाउन थालिएको छ।

महानगर प्रहरी बलका प्रमुख जोशीका अनुसार प्रारम्भिक चरणमा कारबाहीमा परेका व्यक्ति तथा संस्थाको नाम सार्वजनिक नगर्ने नीति महानगरको छ। तर, एउटै प्रकृतिको कसुर दोहोरिएमा सम्बन्धित व्यक्ति वा संस्थाको नाम र ठेगाना सार्वजनिक गरिनेछ।

स्वास्थ्य संस्थाबाट निस्कने फोहरलाई जथाभावी सार्वजनिक स्थानमा फाल्दा वातावरण तथा जनस्वास्थ्यमा जोखिम बढ्ने भएकाले यसको व्यवस्थापनमा महानगरले निगरानी र कारबाहीलाई थप कडाइ गरेको जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्