काठमाडौँ। साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अङ्कको सुधार आएको छ । सामान्य करेक्सनपछि अघिल्लो दिनबाट सम्हालिएको बजारले आज पनि सोही वृद्धि यात्रालाई निरन्तरता दिएको छ ।
शुक्रबार नेप्से परिसूचक २२.८५ अङ्कले बढेर २ हजार ६४७.२२ विन्दुमा पुगेर बन्द भएको छ । नेप्सेसँगै ठुला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि ५.३२ अङ्कले बढेको छ । यस्तै, फ्लोट इण्डेक्स १.८७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अङ्कले उकालो लागेका छन् ।
परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ । बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा शुक्रबार भने कारोबार रकम बढेर ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँ पुगेको छ । ३४५ वटा कम्पनीको ६४ हजार ७२ पटकको कारोबारमा २ करोड १२ लाख ७२ हजार कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ उपसमूहमध्ये ११ वटा उपसमूहको परिसूचक बढेको छ भने २ वटा उपसमूह घटेका छन् । बैंकिङ उपसमूहमा लगानीकर्ताको आकर्षण देखिँदा परिसूचक १.५९ प्रतिशतले बढेको छ ।
त्यस्तै, जीवन बीमा उपसमूहको परिसूचक पनि करिब १.५ प्रतिशतले बढेको छ । वित्त (फाइनान्स) र अन्य उपसमूहको परिसूचक भने सामान्य अङ्कले घटेर बन्द भएका छन् ।
स्नो रिभर्स लिमिटेडको सेयर मूल्य१३.६६ प्रतिशतले बढेको छ । त्यस्तै, इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य करिब १० प्रतिशत र मैलुङ्ग खोला जलविद्युत कम्पनीको सेयर मूल्य करिब ९ प्रतिशतले बढेको छ । तर हाथवे इन्भेष्टमेन्टको सेयर मूल्य भने १५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा कुमारी बैंकको मात्रै ३२ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढी र ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँभन्दा माथि रहेको छ।










