काठमाडौं । सरकारले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै फ्रेन्चाइज टोलीका लागि छुट्टाछुट्टै फ्लडलाइटयुक्त क्रिकेट रङ्गशाला निर्माण गर्ने योजना अघि बढाएको छ। यस विषयमा छलफल गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आठवटै फ्रेन्चाइज टोलीका मालिकलाई मन्त्रालयमा बोलाएका छन्।
मन्त्री पोखरेलले आज दिउँसो ३ बजे छलफलका लागि सबै टोलीका मालिकलाई मन्त्रालयमा उपस्थित हुन निम्तो दिएका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहले केही दिनअघि सामाजिक सञ्जालमार्फत एनपीएलको छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने गरी आठवटै टोलीका लागि आफ्नै घरेलु मैदानसहितका रङ्गशाला निर्माण गर्ने घोषणा गरेका थिए।
प्रधानमन्त्रीको घोषणाअनुसार विराटनगर किंग्सका लागि बैजनाथपुर, लुम्बिनी लायन्सका लागि सिद्धार्थनगर, कर्णाली याक्सका लागि सुर्खेत, सुदूरपश्चिम रोयल्सका लागि धनगढीको फाप्ला र काठमाडौं गुर्खाजका लागि कीर्तिपुरमा रङ्गशाला निर्माण गर्ने योजना छ।
त्यस्तै, पोखरा एभेन्जर्सका लागि पोखरा, जनकपुर बोल्ट्सका लागि रामजानकी रङ्गशाला र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रङ्गशालालाई घरेलु मैदानका रूपमा विकास गरिनेछ।
प्रधानमन्त्री शाहका अनुसार फाप्ला क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने बाँकी रङ्गशालाको निर्माण प्रक्रिया आगामी तीन महिनाभित्र सुरु गर्ने तयारी छ। यी पूर्वाधार नेपाल सरकारको सम्बन्धित मन्त्रालयमार्फत निर्माण गरिने बताइएको छ।
रङ्गशाला निर्माणपछि एनपीएललाई होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने र नेपाली क्रिकेटलाई काठमाडौं केन्द्रित अवस्थाबाट देशका विभिन्न सहरसम्म विस्तार गर्ने सरकारको लक्ष्य रहेको छ।










