सुत्केरी महिलाको मृत्युपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी, ३० लाखको क्षति; चार जना पक्राउ

खबर बुक
  • ख-
  • ख
  • ख+

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–६ स्थित बरहथवा नगर अस्पतालमा भएको तोडफोड तथा आगजनीबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बरहथवा नगरपालिका–५ निवासी ३३ वर्षीय राजेश कुमार महरा र २१ वर्षीय रोहन महरा तथा रौतहटको गुजरा नगरपालिका–९, सिमरा निवासी ४२ वर्षीय भुनेसी महरा र २० वर्षीय राजन महरा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलंगवा लगिएको छ।

चिकित्सकको लापरबाहीका कारण सुत्केरी महिलाको मृत्यु भएको आरोप लगाउँदै आक्रोशित आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै इमर्जेन्सी कक्षमा आगजनी गरेका थिए। घटनाबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको बरहथवा नगर अस्पतालका सूचना अधिकारी राजेश कुमार रौनियारले जानकारी दिएका छन्।

बरहथवा नगरपालिका–५ निवासी रुपेश महराकी २१ वर्षीया श्रीमती सिमा देवी रामको आइतबार राति उपचारका क्रममा मृत्यु भएको थियो। उनलाई सुत्केरी गराउन तीन दिनदेखि अस्पतालमा राखिएको थियो।

घटनापछि केही समय अस्पतालको अवस्था तनावग्रस्त बनेको थियो। अस्पतालमा कार्यरत चिकित्सक तथा उपचारका लागि आएका बिरामीहरू अस्पताल छाडेर बाहिरिएका थिए। घटनाका क्रममा केही चिकित्सकमाथि कुटपिटसमेत भएको प्रहरीले जनाएको छ।

मृतक महिलाको शव पोस्टमार्टमपछि मलंगवास्थित शवगृहमा राखिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्