आईपीओ निष्कासनमा कडाइ गर्दै धितोपत्र बोर्ड, नयाँ योग्यता निर्देशिकाको मस्यौदा सार्वजनिक

खबर बुक
  • ख-
  • ख+

नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनका लागि कम्पनीको योग्यता थप व्यवस्थित र जोखिममा आधारित बनाउने उद्देश्यले ‘सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ ।

मस्यौदामा कम्पनीको व्यवसायको प्रकृति, आकार, वित्तीय अवस्था, पुँजी संरचना तथा जोखिमका आधारमा फरक योग्यता मापदण्ड तोक्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ । सार्वजनिक निष्कासनअघि कम्पनीले पछिल्ला तीन आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण सार्वजनिक गर्नुपर्नेछ ।

कम्पनीले कृत्रिम रूपमा आम्दानी वा नाफा बढाएको, कृत्रिम कारोबार गरेको, सम्बन्धित पक्षमार्फत नाफा स्थानान्तरण गरेको वा वित्तीय विवरणमा हेरफेर गरेको पाइएमा बोर्डले अनुसन्धान गरी निष्कासन प्रक्रिया रोक्न वा स्वीकृति अस्वीकार गर्न सक्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ ।

त्यस्तै, संस्थापक सेयरधनी, सञ्चालक तथा प्रमुख व्यवस्थापन पदाधिकारीले आफ्नो योग्यता, अनुभव, नियामकीय इतिहास, कानुनी विवाद, वित्तीय दायित्व र स्वार्थको द्वन्द्वसम्बन्धी विवरणसहित नैतिक आचरणसम्बन्धी घोषणा पेश गर्नुपर्नेछ ।

जलविद्युत, ऊर्जा तथा अन्य प्राविधिक प्रकृतिका आयोजनाले स्वतन्त्र इन्जिनियरबाट प्राविधिक अवस्था, निर्माण प्रगति, लागत र सञ्चालन तयारीको परीक्षण गराउनुपर्ने व्यवस्था गरिएको छ ।

आइपिओबाट प्राप्त रकम विवरणपत्रमा उल्लेखित उद्देश्यमा मात्र प्रयोग गर्नुपर्ने र छुट्टै बैंक खातामा राख्नुपर्नेछ । रकम उपयोगको समीक्षा सञ्चालक समितिले त्रैमासिक रूपमा गर्नुपर्ने तथा कम्पनीले त्रैमासिक र वार्षिक प्रतिवेदन बोर्डमा पेश गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

स्वीकृत रकम उपयोग योजनामा परिवर्तन गर्नुपरेमा बोर्डको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था पनि मस्यौदामा छ ।

बोर्डले सरोकारवालाबाट राय–सुझाव प्राप्त गर्न निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्