बाढीमा बेपत्ता पत्रकार थामीको अन्त्येष्टि गर्ने निर्णय

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । रसुवा बाढीका क्रममा बेपत्ता भएका पत्रकार टेकराज थामी अहिलेसम्म नभेटिएपछि शनिबार अन्त्येष्टि गरिने भएको छ । परिवारको सल्लाह र निर्णयबमोजिम पशुपति आर्यघाटमा अन्त्यष्टि गर्न लागिएको नेपाल थामी समाजले जानकारी दिएको हो ।

नयाँ पत्रिकामा कार्यरत पत्रकार थामी कार्यालयबाट चार दिनका लागि बिदा लिएर रसुवातर्फ गएका थिए । आफू एक कार्यक्रममा सहभागी हुन केरुङ जाने उनले परिवारलाई बताएका थिए । उनी चीनतर्फ पुगे-नपुगेको पुष्टि हुन नसकेको नयाँ पत्रिकाले जनाएको छ ।

बाढी आउने आएको अघिल्लो दिन रसुवातर्फ लागेका थामीको बेलुका परिवारसँग सम्पर्क भएको थियो । त्यसयता उनको कसैसँग सम्पर्क नभएको श्रीमती कालिका खड्काले बताएकी छन् ।

सबै निकायबाट खोजी र उद्धारका लागि पहल गर्दा पनि थामीको कुनै पत्तो लागेन । बाढी आएको दिन बिहान ८:२१ बजेसम्म उनको मोबाइल लोकेसन देखिएको र त्यसपछि फोन अफ भएको थियो ।

मिहिनेति र जुझारु पत्रकार थामीले अपराध तथा अनुसन्धानमूलक रिपोर्टिङ गर्दै आएका थिए । एक दशकभन्दा बढी समयदेखि उनी नयाँ पत्रिकामा कार्यरत थिए । उनी थामी सामाजका पूर्वउपाध्यक्ष पनि हुन् । दोलखा घर भएका थामीका श्रीमती र एक छोरी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्