काठमाडौं । बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको विषयमा छलफल गर्न आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुख (मेयर)हरूबीच चर्काचर्की भएको छ ।
सिंहदरबारमा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले काठमाडौं उपत्यकासहित फोहोरबाट प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिबीच छलफल आयोजना गरेका थिए । उक्त छलफलमा सांसद तामाङ पनि सहभागी थिइन् ।
छलफलका क्रममा सांसद तामाङ र स्थानीय जनप्रतिनिधिबीच भनाभन भएको थियो । चर्काचर्की भएपछि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलगायतले उनलाई सम्झाउन खोजेका थिए । तर, सांसद तामाङ थप आक्रोशित बनेकी थिइन् ।
‘त्यतिकै बेस्सरी कराएर हुन्छ ? मेयरसाबलाई कराएर हुन्छ ?,’ मेयर महर्जनले तामाङलाई प्रश्न गरेका थिए ।
जवाफमा तामाङले भनिन्, ‘आउनु पर्यो नि ।’
त्यसपछि मेयर महर्जनले भने, ‘आउँदै हुनुहुन्छ त ।’
लगत्तै तामाङले प्रश्न गरिन्, ‘बञ्चरेडाँडाका मान्छे होइन ?’
सांसद तामाङले स्थानीय सरकारले अहिलेसम्म बञ्चरेडाँडाको समस्या समाधानमा आँखा चिम्लिएको आरोप लगाइन् । उनले भोलिदेखि बञ्चरेडाँडामा फोहोर लैजान नदिने चेतावनी दिँदै बैठक छाडेर बाहिरिएकी थिइन् ।










