काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गाँजा खेतीलाई कानुनबमोजिम व्यवस्थित गर्न सकिए अर्थ मन्त्रालय सहजीकरण गर्न तयार रहेको बताएका छन् ।
शुक्रबार राष्ट्रिय सभामा भएको प्रश्नोत्तर कार्यक्रममा सांसद विष्णुकुमारी सापकोटाले नेपालमा गाँजा खेतीलाई वैधानिक बनाउने सरकारको योजनाबारे प्रश्न गरेकी थिइन् । जवाफमा मन्त्री वाग्लेले गाँजा उत्पादन तथा बजारीकरणलाई आय, रोजगारी र सम्भावित राजस्वसँगै औषधिजन्य तथा लागुऔषधका रूपमा नियन्त्रित विषयका रूपमा हेर्नुपर्ने बताए ।
उनले यस विषयमा सम्बन्धित विज्ञबाट अध्ययन तथा आवश्यक निर्क्योल भई कानुनबमोजिम गाँजा खेती व्यवस्थित गरिए अर्थ मन्त्रालय सहजीकरण गर्न तयार रहेको बताए ।
नेपालमा गाँजा खेतीलाई वैधानिक बनाउने विषयमा पछिल्लो समय बहस हुँदै आएको छ । आर्थिक लाभ, औषधि उत्पादन तथा किसानको आय वृद्धि गर्न सकिने भन्दै यसको खेती खुला गर्नुपर्ने आवाज उठिरहेको छ ।
सांसद सापकोटाले आयुर्वेद तथा आधुनिक चिकित्सा विज्ञानमा गाँजाका विभिन्न भाग उपयोगी रहेको उल्लेख गर्दै यसबाट औषधि, कपडा, कागज र डोरीलगायतका सामग्री उत्पादन गर्न सकिने बताइन् । उनले औषधिजन्य उत्पादनका लागि गाँजा खेती गर्न सकिने कानुनी व्यवस्था रहेको र गण्डकी प्रदेशले समेत यससम्बन्धी कानुन बनाइसकेको भन्दै संघीय सरकारले कहिले कानुन बनाउने भन्ने प्रश्न गरेकी थिइन् ।
जवाफमा मन्त्री वाग्लेले औषधिजन्य प्रयोजनका लागि गाँजालाई वैधानिक बनाउने दिशामा विकसित मुलुकहरू समेत अघि बढिरहेको बताए । नेपाल पनि यस विषयमा सकारात्मक भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
यद्यपि, चालु आर्थिक वर्षको बजेटमा गाँजा खेतीसम्बन्धी विषय उल्लेख नभएको उनले स्पष्ट पारे । यो विषय गृह मन्त्रालयसँग समेत सम्बन्धित भएकाले थप अध्ययन तथा छलफलपछि कानुनी व्यवस्था गर्न सकिए अर्थ मन्त्रालयले सकारात्मक रूपमा सहजीकरण गर्ने उनले बताए ।










