काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रहरी संगठन वा प्रहरी प्रमुखसँग आफ्नो कुनै व्यक्तिगत विवाद नरहेको स्पष्ट पारेका छन् ।
शुक्रबार रास्वपा कार्यालय वनस्थलीमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद सुनारले संसदीय समितिमा उजुरी परेपछि सम्बन्धित व्यक्ति तथा अधिकारीलाई बोलाएर छलफल गर्नु सामान्य र नियमित प्रक्रिया भएको बताए ।
आफू र प्रहरी संगठन वा प्रहरी प्रमुखबीच व्यक्तिगत विवाद नरहेको स्पष्ट पार्दै उनले सञ्चारमाध्यमले आफू र प्रहरी पक्षबीचको विषयलाई दुई पक्षीय विवादका रूपमा अनावश्यक प्रचार गरेको भन्दै आपत्ति जनाए ।
सांसद सुनारले रास्वपाको स्थापना नै अराजकता र बेथितिको अन्त्य गर्दै सुशासन कायम गर्न तथा भ्रष्टाचारविरुद्ध लड्न भएको बताए ।
बारामा भएको बालिका हत्याको घटनाबारे बोल्दै उनले दोषीमाथि हदैसम्मको कानुनी कारबाही गर्न राज्य गम्भीर हुनुपर्ने बताए । घटनामा संलग्न दोषीलाई कानुनअनुसार कडा कारबाही गर्नुपर्नेमा उनले जोड दिए ।










