संसद्मा टि–सर्ट लगाएर नआउन प्रधानमन्त्री र मन्त्रीलाई एमाले सांसदको आग्रह

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । नेकपा (एमाले) का सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रतिनिधि सभा बैठकमा संसदीय पोशाकसम्बन्धी अनुशासन कायम गर्न रुलिङको माग गरेका छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पोखरेलले प्रधानमन्त्री तथा मन्त्रीहरूलाई समेत टि–सर्ट लगाएर संसद्मा सहभागी नहुन आग्रह गरे। संसद्को गरिमा कायम राख्न सांस्कृतिक वा राष्ट्रिय पोशाकलाई अनिवार्य गर्नुपर्ने उनको माग छ।

उनले सन् २०२१ फेब्रुअरी ९ मा न्युजिल्यान्डको संसद्मा भएको घटना तथा सन् २०२३ मा क्यानडाको संसद्मा पोशाकसंहिता लागू गर्न भएको संसदीय रुलिङको उदाहरण प्रस्तुत गरे।

सांसद पोखरेलले संसद्को लोगो कोट, हाफकोट र ओभरकोटबाहेक टि–सर्ट, ज्याकेट, सर्ट, कुर्ता, ब्लाउज तथा सललगायतका पोशाकमा प्रयोग गर्न रोक लगाउनुपर्ने बताए।

“संसद्को गरिमा कायम गर्न सांस्कृतिक पोशाक वा राष्ट्रिय पोशाक अनिवार्य गरियोस्, प्रधानमन्त्री र मन्त्रीलाई टि–सर्ट लगाएर संसद्भित्र प्रवेश गर्न रोक लगाइयोस्,” उनले भने।

संसदीय पोशाकसम्बन्धी स्पष्ट अनुशासन कायम गर्न सभामुखबाट आवश्यक रुलिङ जारी गर्न उनले माग गरे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्