काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई रुलिङमार्फत संसद्मा बोलाएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन लगाउन सभामुख डोलप्रसाद अर्यालसमक्ष माग गरेको छ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद रेनुका काउचाले संसद्मा उठिरहेका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखले रुलिङ गर्नुपर्ने बताइन्।
उनले आफूहरू प्रधानमन्त्रीलाई घेराबन्दी गर्न नभई सरकारलाई जवाफदेही बनाउन खोजिरहेको दाबी गरिन्।
‘सभामुखसमक्ष आग्रह गर्न चाहन्छु, सम्माननीय प्रधानमन्त्रीज्यूलाई रुलिङ गरेर सदनमा जवाफ दिन बोलाउनुहोस्,’ उनले भनिन्, ‘हामी तपाईंलाई घेराबन्दी गर्न होइन, जवाफदेही बनाउन चाहन्छौं । हामी सभामुख र प्रधानमन्त्री पदको गरिमा बचाउन खोजिरहेका छौं । हामी सरकारलाई सफल बनाउन खोजिरहेका छौं ।’
काउचाले प्रधानमन्त्री शाह एक्लो नभएको भन्दै मुलुकको हितमा अघि बढे प्रतिपक्षले साथ दिने प्रतिबद्धता समेत जनाइन्।
उनले संविधानभन्दा माथि कोही पनि नरहेको र संसद्भन्दा ठूलो राजनीतिक मञ्च अर्को नभएको बताइन्।
‘प्रधानमन्त्रीज्यू तपाईं एक्लो हुनुहुन्नँ, मुलुकको हितमा तपाईं अघि बढ्नुस् । प्रतिपक्ष तपाईंको साथमा उभिनेछ । तर संविधानभन्दा माथि कोही छैन,’ उनले भनिन्, ‘संसद्भन्दा ठूलो राजनीतिक मञ्च छैन । राष्ट्रिय हितभन्दा ठूलो कुनै दल छैन । सचिवालयले मात्रै देशको शासन चल्दैन ।’
सांसद काउचाका अनुसार प्रतिनिधिसभामा दैनिक उठिरहेको सीमासम्बन्धी प्रश्नको जवाफ प्रधानमन्त्री शाहले अनिवार्य रूपमा दिनुपर्छ। उनले राष्ट्रिय महत्वका विषयमा प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर जवाफ दिनुपर्नेमा जोड दिइन्।










