शेरधनलाई नेकपाको सन्देश– पहिले एमालेले आफ्नै विवाद टुंग्याओस्

खबर बुक
  • ख-
  • ख+

कोशी सरकारमा हिक्मत कार्कीबाट मुख्यमन्त्री पद खोस्न एमालेभित्रै किचलो भइरहँदा एमाले सचिव शेरधन राईले नेकपाका नेता भेटेका छन् । उनले नेकपा संसदीय दलका नेता इन्द्र आङबोसँग छलफल गरेका हुन् । एमाले-नेकपाबीच गठबन्धन गरेर जाने ओली-प्रचण्डबीचको सहमतिपछि दुई दलका बीचमा औपचारिक छलफल भएको हो ।

हिक्मतलाई फेरेर तिलकुमार मेयाङ्बोलाई बनाउने तयारीमा एमाले अध्यक्ष ओलीदेखि प्रदेशसम्ममा केही नेता लागेका छन् । सो विषयमा पनि दुई दलबीच छलफल भएको थियो । छलफलमा नेकपा नेता आङ्बोले एमालेको आन्तरिक समस्यामा नेपाली कम्युनिस्ट पार्टीलाई नपार्न भन्दै पहिले आफ्नो समस्या टुंग्याएर आएपछि सत्ता साझेदारीबारे छलफल गर्ने जवाफ दिएका छन् ।

उनले नेपाल प्रेससँग भने, ‘यो हाम्रो समस्या हुँदै होइन । अरूको समस्यामा हामी किन पर्नु ? उहाँहरूको ( एमालेको ) समस्या सुल्झेपछि सत्ता साझेदारी गर्ने विषयमा हाम्रा एजण्डाले प्रवेश पाउँछ ।’

उनले बैठकमा तीन वटा कुरा गरेको बताए । नेता आङ्बोका अनुसार मुख्यमन्त्री को बनाउने एमाले पहिले टुंग्याउनुपर्ने, दलभित्रको विषय प्रदेशसभामा प्रवेश गर्‍यो भने निर्णय अकल्पनीय हुन सक्नेजस्ता विषय राईलाई सुझाइएको छ । उनले कस्तो अकल्पनिय भन्ने चाहिँ खुलाएनन् ।

एमाले कोशीका इन्चार्जसमेत राईले ओलीको सन्देश भन्दै हिजो कार्कीलाई मार्ग प्रशस्त गर्न भनेका थिए । उनकै नेतृत्वमा हिजोदेखि मुख्यमन्त्री फेर्न लबिङ भइरहेको छ । तर, कार्कीले संस्थागत निर्णय नभई मुख्यमन्त्रीबाट राजीनामा नदिने अडान लिएका छन् । कार्कीले असहमति जनाएपछि राई दलको नेता फेर्ने विकल्पमा समेत लागेका छन् ।

एमालेका सांसद होम थापाले दलको नेता फेर्ने विषय विकल्पको रूपमा हुनसक्ने बताए । उनले भने , ‘अहिले यसतर्फ प्रक्रिया भने अगाडि बढेको छैन ।’

कोशी प्रदेशमा एमालेका ४० जना सांसद छन् । अन्यत्र सामान्य बहुमतले दलको नेता फेर्न सकिने भए पनि एमाले कोशीको विधानमा दलको नेता फेर्न दुई तिहाइ सदस्य आवश्यक पर्ने बताइएको छ ।

कार्की संविधानको धारा १६८ (५) अन्तर्गत मुख्यमन्त्री बनेका हुन् । दलको नेताबाट हटाए पनि उनले राजीनामा नदिएसम्म मुख्यमन्त्री पद नजाने उनी निकट सांसदहरू दाबी गर्छन् । मुख्यमन्त्री हटाउन उनीविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्नु पर्छ । आफ्नै सांसदहरू लागेर अविश्वासको प्रस्ताव पेस गरे फेस गरेर जाने मुख्यमन्त्री कार्कीले बताउँदै आएका छन् ।

उनले भने, ‘आवश्यक परे अविश्वासको प्रस्ताव समेत फेस गर्नु तयार छु ।’

कोशीमा बहुमत पुर्‍याउन ४७ जना सांसद चाहिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्