एमालेमा विवाद चर्कियो, दलको नेता फेर्ने प्रयास सुरु

खबर बुक
  • ख-
  • ख+

एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशन नमानेको र गठबन्धनबारे सहमति कार्यान्वयनका लागि छलफलसमेत नगरेको भन्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध एमालेका सांसदले नै मोर्चाबन्दी सुरु गरेका छन् ।

उक्त समूहले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री कार्कीलाई दलको नेताबाट हटाउने तयारी गरेको छ । ‘नेतृत्वले भनेको पनि नमान्ने । छलफल र परामर्श पनि नगर्ने, चुप लागेर बसेपछि हामीले कुनै न कुनै स्टेप त लिनै पर्‍यो नि,’ उक्त समूहका एक नेताले भने, ‘हस्ताक्षर नै हामीले सुरु गरिसकेका छैनौँ । त्यो अवस्थासम्म पुग्न सक्छ भन्ने हो ।’

उता, एमालेका सांसद रेवतीरमण भण्डारीले संसदीय दलको विधानको व्यवस्था अनुसार नेता हटाउन नसक्ने बताए । ‘दलको विधानमा दलको नेता हटाउन दुई तिहाइ चाहिन्छ,’ उनले भने, ‘अहिलेसम्म दलको नेता हटाउन लाग्नु भएका साथीहरूले बहुमत पुर्‍याउन पनि सक्नुहुन्न ।’

एमाले केन्द्रीय सचिवसमेत रहेका कोशी प्रदेशका इन्चार्ज शेरधन राई शनिबार विराटनगर आएसँगै उक्त अभियान सुरु भएको स्रोतको भनाइ छ । इन्चार्ज राई र एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाले प्रत्येक सांसदलाई व्यक्तिगत हिसाबले भेटघाट गरिरहेका छन् । राई र खतिवडाको मुभले मुख्यमन्त्री कार्की तनावमा रहेको स्रोत बताउँछ ।

‘मुख्यमन्त्री तनावमा देखिनुहुन्छ,’ उक्त स्रोतले भन्यो, ‘इन्चार्जज्यूले र प्रदेश अध्यक्षज्यूले व्यक्तिगत भेटेर सांसदहरुलाई कन्भिन्स गरिरहनु भएको छ । त्यतिले नपुगे पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै फोन गरिरहेको बताइएको छ ।’

अध्यक्ष ओलीले मुख्यमन्त्रीबाट कार्कीलाई हटाएर ताप्लेजुङका सांसद तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने चाहना राखेका थिए । सोही अनुसार अभियान चलिरहेको छ । कार्कीलाई हटाउने विषयमा भइरहेको छलफलमा सहभागी हुन विराटनगरको होटल बिगमा बहुमत सांसद जुटेका छन् ।

दलको विधानमा के छ व्यवस्था ?

हिक्मतकुमार कार्कीलाई संसदीय दलको नेताबाट हटाउन दलको विधान नै बाधक बन्ने कतिपयको धारणा छ । एमाले संसदीय दलको विधानको दफा ७ मा दलको नेताबारे व्यवस्था छ । सोही दफाको उपदफा (२) मा संसदीय दलको नेताको पद रिक्तता सम्बन्धी व्यवस्था छ, जसमा राजीनामा दिएमा, संसदीय दलमा कायम सदस्य संख्याको दुई तिहाइ सदस्यको बहुमतले अविश्वासको प्रस्ताव पेस गरी त्यस्तो प्रस्ताव पारित भएमा, प्रदेश सभाबाट कुनै कारणले निलम्बन भएमा वा प्रदेश सभा सदस्य नरहेमा र निजको मृत्यु भएमा पद रिक्त रहने उल्लेख छ ।

मुख्यमन्त्री कार्की निकट एक सांसदका अनुसार अध्यक्ष ओलीसहित सिङ्गो पार्टी लागेको खण्डमा दलको नेता हटाउन पनि सक्ने अवस्था छ । ‘पार्टी अध्यक्ष नै लागेपछि दलको नेता फेर्न पनि सक्छन्,’ ती सांसदले भने, ‘तर, दलको नेता हटाउने बित्तिकै मुख्यमन्त्री परिवर्तन हुँदैन । उहाँले संसद् फेस गर्नुहुन्छ ।’

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच भएको तीन बुँदे सहमतिमा कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले गर्ने उल्लेख छ । तर, एमालेभित्र कसलाई मुख्यमन्त्री बनाउने भन्ने विषयमा विवाद हुँदा नयाँ सरकार गठन हुन सकेको छैन । बागमतीमा भने संसदीय दलका नेता जगन्नाथ थपलियालाई नै मुख्यमन्त्री बनाउने एमालेले निर्णय गरिसकेको छ । अध्यक्ष ओलीले भने थपलियालाई रोक्न किरण थापालाई अगाडि सारेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्