नागढुंगा सुरुङमार्ग- ओलीको शिलालेख सडक विभागको भग्नावशेषमा, भएको के हो ?

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले एउटा पोस्टर सेयर गरे जसमा थानकोट-नागढुंगा सुरुङमार्गको शिलालेखबाट सरकारले तत्कालीन प्रधानमन्त्री केपी ओलीको नाम हटाइएको दाबी गरिएको छ । समाचारको कुनै स्रोत उल्लेख नगरिकन पोखरेलले यस कार्यको भर्त्सना गरेका छन् ।

उनी भन्छन्, ‘शिलालेखबाट नाम मेटिएला, तर इतिहास मेटिँदैन !’

सुरुङमार्गको शिलान्यास शिलालेखबाट केपी ओलीको नाम हटाइनु सरकारको निकृष्ट पूर्वाग्रह र प्रतिशोधको राजनीति भएको टिप्पणी पोखरेलले गरेका छन् ।

‘जननेता मदन भण्डारीको प्रतिशोध र पूर्वाग्रह प्रजातान्त्रिक गुण होइनन्’ भन्ने सत्य बचनलाई वर्तमान सरकारले मनन गर्न सकेको देखिएन,’ पोखरेल ले भनेका छन्, ‘वास्तवमा बालेन नेतृत्वको सरकारले इतिहास र लोकतान्त्रिक मूल्य बिर्सेर जुन हर्कत गरिरहेको छ, यसले उनीहरूलाई नै दुर्भाग्यपूर्ण पतनतर्फ धकेल्नेछ !’

पोखरेलको यो स्टाटसलाई एमाले पङ्क्तिले व्यापकरूपमा सेयर गरिरहेको छ । हिजोदेखि यही चर्चा व्याप्त छ कि सरकारले राजनीतिक पूर्वाग्रहकै आधारमा ओलीको नाम शिलालेखबाट हटायो । सरकारका तर्फबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल कात्तिक ४ गते यो सुरुङमार्गको शिलान्यास गरेका थिए । चन्द्रागिरी नगरपालिका-१, टोटेपाखा (थानकोट क्षेत्र) मा शिलान्यास कार्यक्रम आयोजना गरिएको थियो । यो नेपालकै पहिलो सडक सुरुङमार्ग हो । ओलीले सुरुवात गरेर निर्माण अघि बढाएको आयोजनाको जस वर्तमान सरकारले आफैं लिन खोजेको भन्दै एमाले पङ्क्ति असन्तुष्ट बनेको छ । यही क्रममा शिलालेखबाट ओलीको नाम हटाइएको चर्चा व्याप्त भएको हो ।

हामीले ओलीको नाम रहेको शिलालेख सुरूङमार्गबाट किन र कहिले हटाइयो भन्नेबारे आयोजनाका उप-निर्देशक सञ्जय पन्थीसँग कुरा गरेका छौं।

उनले भने बाहिर चर्चा भएको भन्दा फरक विवरण दिएका छन् । आयोजनाका उप-आयोजना निर्देशक एवं सूचना अधिकारी सञ्जय पन्थीले सामाजिक सञ्जालमा लगाइएको आरोप सत्य नभएको बताए । आयोजना स्थलमा ओलीले शिलान्यास गरेको अभिलेख नरहनुमा वर्तमान सरकारको कुनै हात नरहेको उनको भनाइ छ ।

पन्थीका अनुसार ओलीले शिलान्यास गरेको शिलालेखसहितको ढुंगाको प्रतिमा जानाजान वा नियतवश हटाइएको नभई निर्माण तथा प्रशासनिक प्रक्रियाको क्रममा आकस्मिक घटनामा परेको हो ।

कुनै पनि ठूला तथा राष्ट्रिय गौरवका पूर्वाधार निर्माण आयोजनाहरू सुरू गर्दा नेतृत्वबाट शिलान्यास गरी शिलालेख राख्ने गरिन्छ । त्यसपछि भौतिक निर्माण सुरू हुन्छ । माटो खन्ने, भत्काउने तथा भारी उपकरणहरूको प्रयोग गरी सुरुङमार्ग निर्माणको काम अघि बढ्छ ।

यस क्रममा निर्माण स्थलमा रहेका संरचनाहरू सुरक्षित राख्नका लागि स्थानान्तरण गर्नुपर्ने प्राविधिक बाध्यता हुन्छ । सोही नियम र प्रक्रिया अनुसार नागढुंगा सुरुङ्गमार्गको शिलान्यास प्रतिमालाई पनि निर्माणस्थलमा क्षति हुनबाट जोगाउन त्यहाँबाट निकालियो ।

निर्माणस्थलबाट निकालिएको प्रतिमालाई सडक विभागको बबरमहलस्थित वैदेशिक महाशाखाको कार्यालयमा लगिएको थियो । तर, शिलालेख राखिएको भवनमा जनेजी आन्दोलनका क्रममा ठूलो क्षति पुग्न गई भवन ध्वस्त भयो । शिलान्यास ढुंगा अहिले पनि सोही कार्यालयको भग्नावशेष र माटोको थुप्रोमुनि पुरिएको अवस्थामा रहेको पन्थी बताउँछन् ।

सडक विभागका एक अधिकारीले पनि यसलाई पुष्टि गरे । उनले सुरुङमार्गको शिलालेख विभागमा ल्याइएको र जेनजी आन्दोलनमा जलेको बताए । भग्नावशेष पूर्णरुपमा नहटाइएसम्म उक्त प्रतिमा कुन अवस्थामा छ, सुरक्षित रुपमा निकाल्न सकिन्छ वा सकिन्न भन्ने यकिन गर्न सकिने अवस्था नरहेको आयोजना उप–निर्देशक पन्थीको भनाइ छ ।

सामान्यतया यस्ता आयोजनाहरू पूर्णरुपमा सम्पन्न भइसकेपछि शिलान्यास गरिएका ढुंगाहरूलाई पुनः उपयुक्त र सम्मानजनक स्थानमा पुनस्थापना गर्ने स्थापित प्रक्रिया रहेको हुन्छ । बबरमहलस्थित भग्नावशेष हटाइएपछि यदि पुरानो प्रतिमा सही सलामत फेला परेमा त्यसैलाई पुनस्थापना गरिने आयोजनाले जनाएको छ । यदि त्यो काम नलाग्ने अवस्थामा भेटिएमा वा फेला नपरेमा सरकारको निर्णय र निर्देशनअनुसार हुने बताइएको छ ।

नागढुंगा क्षेत्रको जोखिमपूर्ण यातायातलाई सहज बनाउने प्रमुख उद्देश्यसहित राष्ट्रिय गौरवको आयोजनाका रुपमा नागढुंगा सुरुङ्गमार्ग निर्माण अघि बढाइएको थियो । थानकोटबाट धादिङको सिस्नेखोलासम्म जोडिने यो सुरुङमार्ग नेपालको पहिलो सञ्चालनयोग्य आधुनिक सुरुङमार्गसमेत हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्