पछिल्लो समयमा सामाजिक सञ्जालमा व्यक्तिगत गोपनीयता र सामाजिक मूल्य-मान्यतालाई धज्जी उडाइँदै गरिने पोस्टहरूले कतिपय महिलालाई जीवन-मरणकै अवस्थामा पुर्याइरहेका छन् । मधेशका महिलाको हकमा त यो समस्या झनै विकराल बनिरहेको छ ।
सामाजिक सञ्जालमा भ्यूज, लाइकका लागि गरिएको पोस्टका कारण सामाजिक मानमर्दन सहन नसकेर एक बालिकाले मृत्युको बाटो रोजेकी छन् । घटना हो, गत असार १६ गते बाराको कलैया उपमहानगरपालिका- २१ भौडाहको ।
गाउँकै केही युवाले बालिकालाई चौरमा युवकसँग बसेको निहुँमा सार्वजनिक रूपले अपमानित गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेर भाइरल बनाएपछि यो दुखद परिणाम आएको हो ।
अपमान र मानसिक दबाब सहन नसकेर १३ वर्षीया सरिया खातुनले आत्महत्या गरेको परिवारजनको भनाइ छ । बारास्थित जिल्ला प्रहरी कार्यालयका अनुसार सरिया आफ्नै घरमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् ।
घटनापछि परिवारले इलाका प्रहरी कार्यालय, सिमरामा जाहेरी दिएको छ । जाहेरीका आधारमा प्रहरीले सात जना युवाविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा मुद्दा दर्ता गरेको छ । एक जनालाई नियन्त्रणमा लिइएको छ भने अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी र स्थानीयका अनुसार असार १५ गते सरिया गाउँ नजिकैको चौरस्थित खेतमा एक युवकसँग बसिरहेकी थिइन् । त्यही बेला गाउँकै केही युवाको समूह त्यहाँ पुगेको थियो । उनीहरूले ‘केटासँग किन बसेको रु’ भन्दै सरियामाथि गालीगलौज सुरु गरेका थिए ।
परिवारजनका अनुसार ती युवाले सरियामाथि कुटपिट र दुर्व्यवहारसमेत गरे । सरियामाथि भइरहेको दुर्व्यवहारको दृश्य उनीहरूले मोबाइलमा खिचे । त्यसपछि उक्त भिडियो सामाजिक सञ्जालमा पोस्ट गरियो । केही घण्टामै भिडियो गाउँ-समाजभरि फैलियो ।
परिवारजनका अनुसार चौरमा भएको दुर्व्यवहारभन्दा बढी चोट भिडियो भाइरल भएपछि सरियाले भोग्नुपर्यो । गाउँमै अपमानित बनाइएको दृश्य मोबाइल-मोबाइलमा पुग्यो ।
आफूमाथि गालीगलौज, धम्की र कुटपिट भइरहेको दृश्य सार्वजनिक भएपछि उनी गहिरो तनावमा परेकी थिइन् । चौरमा घेरिनु एउटा हिंसा थियो भने त्यसलाई भिडियो बनाएर सामाजिक सञ्जालमा फैलाउनु त्यो भन्दा ठूलो हिंसा भइदियो ।
गाउँकै केही युवाले उनलाई सामाजिक कठघरामा उभ्याएपछि उनले अपमान सहन नसकी आत्महत्याको बाटो रोजेको परिवारजनको भनाइ छ । त्यसको भोलिपल्ट, असार १६ गते, सरिया आफ्नै घरमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् ।
परिवारले इलाका प्रहरी कार्यालय, सिमरामा किटानी जाहेरी दिएका छन् । जाहेरीमा घटनामा संलग्न युवामाथि कडा कारबाहीको माग गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाराका सूचना अधिकारी प्रहरी निरीक्षक बलराम श्रेष्ठले घटनासँग सम्बन्धित एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताए । उनका अनुसार सरियाले आत्महत्या गरेको देखिए पनि त्यसको प्रत्यक्ष कारणबारे प्रहरीले अन्तिम निष्कर्ष निकालेको छैन ।
‘घटनाबारे सबै कोणबाट अनुसन्धान भइरहेको छ,’ श्रेष्ठले भने, ‘मृतकले कुनै सुसाइड नोट वा स्पष्ट प्रमाण नछोडेकाले आत्महत्याको कारणबारे यकिन गर्न अनुसन्धान जारी छ ।’
उनका अनुसार परिवारको जाहेरी, सामाजिक सञ्जालमा फैलिएको भिडियो, स्थानीय बासिन्दाको बयान र घटनाको समयक्रमलाई आधार बनाएर सात जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरिएको हो । एक जना पक्राउ परिसकेका छन् भने अन्य फरार आरोपितको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सामाजिक सञ्जालमा फैलिएको भिडियो अनुसन्धानको महत्त्वपूर्ण आधार बनेको छ । भिडियोमा केही युवाले बालिकालाई घेरेर गालीगलौज गरिरहेको, धम्क्याइरहेको र अपमानजनक व्यवहार गरिरहेको देखिन्छ । परिवारजनले भने भिडियोमा देखिएकोभन्दा बाहिर पनि कुटपिट र दुर्व्यवहार भएको दाबी गरेका छन् ।










