काठमाण्डौँ, २३ चैत । पछिल्लो तीन सातामा देशका २३ स्थानमा बर्डफ्लु पुष्टि भएको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले चैतमा मात्र २३ ठाउँमा बर्डफ्लु रोग देखिएको बताएका हुन् ।
यस वर्ष कतै पनि बर्डफ्लु रोग नदेखिएकोमा चैत महिनामा २३ स्थानमा बर्डफ्लु रोग देखिएको हो ।
पहिलोपटक चैत ६ गते मोरङको सुन्दरहरैचा र उर्लाबारी नगरपालिकामा एकै साथ दुई स्थानमा बर्डफ्लु देखिएको थियो। यो महिना देशका पाँच जिल्लामा बर्डफ्लु देखिएको हो।
डा। दाहालका अनुसार सुनसरीमा १२ स्थान, मोरङमा सात स्थान, झापा दुई स्थान, चितवनमा एक स्थान र काठमाडौँमा एक स्थानमा बर्डफ्लु रोग देखिएको छ। बर्डफ्लु देखिएको स्थानलाई नियन्त्रणमा लिई फैलिन नदिएको उनले जानकारी दिए।
काठमाडौँको त्रिभुवन विश्वविद्यालय परिसरका कागमा बर्डफ्लु देखिएको थियो। सुनसरी, झापा र मोरङमा बर्डफ्लुको सङ्क्रमण फैलिएपछि ती जिल्लामा पशुपन्छी ओसारपसारमा प्रतिबन्ध लगाइएको महानिर्देशक डा. दाहालले बताए।
बर्डफ्लु देखिएका स्थानमा एक लाख चार हजार कुखुरा एवं हाँस नष्ट गरिएको छ। सरकारले बर्डफ्लु देखिएपछि हाँस, कुखुरा नष्ट गर्ने गर्छ। त्यसबापत किसानलाई ७५ प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउँदै आएको छ।











