१९ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्थलगत अनुगमन गरेका छन्।
सर्वसाधारणबाट बारम्बार गुनासो आइरहेको अवस्थालाई मध्यनजर गर्दै गृहमन्त्री गुरुङ आफ्नो टोलीसहित विमानस्थल पुगेका हुन्।
विशेषगरी यात्रुहरूले भोग्नुपरेको सास्ती, ढिलासुस्ती तथा अनावश्यक झन्झटबारे व्यापक आलोचना भएपछि उनले प्रत्यक्ष निरीक्षण गरेका हुन्।
अनुगमनका क्रममा गृहमन्त्री गुरुङले सेवाग्राहीलाई कुनै पनि प्रकारको दुःख नहुने गरी काम गर्न सम्बन्धित कर्मचारीलाई स्पष्ट निर्देशन दिएका छन्। विदेशबाट फर्किएका नेपाली नागरिकले विमानस्थलमा भोग्नुपरेको समस्या अन्त्य गर्न उनले जोड दिएका छन्।
उनले सामान्य लत्ताकपडा तथा व्यक्तिगत प्रयोजनका सामानमा अनावश्यक जाँच नगर्न पनि निर्देशन दिएका छन्। यस्ता गुनासो पुनः दोहोरिन नदिन सतर्क रहन कर्मचारीलाई सचेत गराइएको उनको सचिवालयले जनाएको छ।














