काठमाडौं, १८ चैत । आज संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दैछ । बैठक दिउँसो एक बजे संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा बस्ने छ ।
गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि बोलाइएको छ । सोही बैठक सञ्चालनको सन्दर्भमा महासचिव पाण्डेले बैठक बोलाएका हुन् ।
बैठकमा सबै दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी हुनेछन् ।
प्रतिनिधिसभाको अबको बैठकले सभामुखको निर्वाचनको प्रक्रिया अगाडि बढाउनेछ । यसका अलावा राजनीतिक दलहरूले चाहेको खण्डमा शीर्ष नेताहरूले शुभकामना सम्बोधन गर्ने अभ्यास छ ।
यसपटकको प्रतिनिधिसभामा रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रमसंस्कृति र राप्रपा गरी ६ वटा दलले राष्ट्रिय मान्यतासहित प्रतिनिधित्व गरेका छन् ।











