राष्ट्रिय सभा निर्वाचन: सातै प्रदेशका मतदान स्थल र केन्द्र तोकिए

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा मतदान स्थल र मतदान केन्द्र तोकेको छ।

आयोगका अनुसार बुधबार बसेको निर्णयअनुसार सातै प्रदेशको राजधानी रहेको जिल्लामा मतदान स्थल निर्धारण गरिएको हो। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रत्येक मतदान स्थलमा दुई–दुई वटा मतदान केन्द्र रहने व्यवस्था मिलाइएको जानकारी दिए।

उनका अनुसार मतदान केन्द्र ‘क’ प्रदेश सभा सदस्यहरूका लागि र मतदान केन्द्र ‘ख’ गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख–उपप्रमुखका लागि तोकिएको छ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख सम्मिलित निर्वाचक मण्डलले मतदान गर्ने व्यवस्था छ।

प्रदेशअनुसार तोकिएका मतदान स्थलहरू

कोशी प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर (मोरङ)

मधेश प्रदेश: महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका–४ (धनुषा)

बागमती प्रदेश: भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा उपमहानगरपालिका–४ (मकवानपुर)

गण्डकी प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा (कास्की)

लुम्बिनी प्रदेश: कर्मचारी मिलन केन्द्र, घोराही (दाङ)

कर्णाली प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर (सुर्खेत)

सुदूरपश्चिम प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढी (कैलाली)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्