श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा लाई प्रहरीले पक्राउ गरेको छ।

विश्वक्रान्ति, कुमार र देवराज लामा भनेर पनि चिनिने उनलाई मङ्गलबार काठमाडौँको कपन क्षेत्रबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी का एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए।

लामा २०६८ सालमा काठमाडौँको बबरमहलमा भएको बम विस्फोट घटनामा संलग्न रहेको मुद्दामा सजाय भुक्तान गरेर जेलमुक्त भएका व्यक्ति हुन्। हाल उनी पाँचथर जिल्लामा दर्ता भएको विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा फरार देखिएपछि पक्राउ गरिएको सीआईबीले जनाएको छ।

प्रहरीका अनुसार २०६९ साल असारमा पाँचथरको भुसपातेबाट उनलाई विस्फोटक पदार्थसहित पक्राउ गरी काठमाडौँ ल्याइएको थियो। सोही घटनासँग सम्बन्धित मुद्दा पाँचथरमा अझै विचाराधीन अवस्थामा रहेको पाइएको छ।

बबरमहलमा तीन जनाको ज्यान जाने गरी भएको बम विस्फोट घटनापछि लामो समय फरार रहेका लामालाई प्रहरीले अनुसन्धानपछि अभियोजन गरेको थियो। सो मुद्दामा कैद सजायको फैसला भई नख्खु कारागारमा सजाय भुक्तान गरेपछि उनी २०७६ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा जेलमुक्त भएका थिए।

सीआईबीले थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि उनलाई पाँचथर पठाइसकेको जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्