भैरहवा । रूपन्देही प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेललाई पक्राउ गरेको छ।
चितवनको कालिका नगरपालिका–५ का कँडेललाई बिहीबार चितवनबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जानकारी दिएको छ।
गत साउन ३० गते रूपन्देहीको बेलहियामा भारतीय युवक अभिषेक यादव विभिन्न विश्वविद्यालयका ठूलो परिमाणमा नक्कली ट्रान्सक्रिप्ट, प्रमाणपत्र, होलोग्राम र स्ट्याम्पसहित पक्राउ परेका थिए। अनुसन्धानक्रममा कँडेलको संलग्नता भेटिएपछि उनलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कँडेलले चितवनमा कलेज कोच नेपाल प्रालि नामक शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्दै आएका थिए। त्यही केन्द्रमार्फत उनले नक्कली शैक्षिक प्रमाणपत्र तयार गरी नेपाल र भारतका विश्वविद्यालयका नाममा विद्यार्थीलाई विदेश पठाउने कार्य गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
कँडेल यसअघि पनि यस्तै प्रमाणपत्रसम्बन्धी प्रकरणमा विवादमा परेका थिए र सो कारण विद्यालय प्रधानाध्यापक पदका लागि अयोग्य समेत ठहरिएका थिए।












