काठमाडौं, असार १ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले थुनामा भएका व्यक्तिलाई सभापति र दलको नेता मान्नेले अरुमाथि नैतिक प्रश्न उठाउन नमिल्ने तर्क गर्नुभएको छ ।
आइतबार प्रतिनिधिसभाको आकस्मीक समयमा बोल्दै घिमिरेले सहकारी प्रकरणमा थुनामा रहेका व्यक्तिलाई सभापति र दलको नेता मान्नेले अख्तियारले कर्मचारीमाथि छानविन गर्दा नैतिकताका आधारमा गृहमन्त्रीको राजीनामा माग गर्न नमिल्ने बताउनुभएको हो ।
अहिले पनि निर्वाचन आयोगको सूचीमा रास्वपाको सभापति पदमा रवि लामिछाने रहेको देखिएको उहाले बताउनुभयो । उहाले अरुसँग नैतिकता खोज्नेले आफैं भित्र नैतिकता खोजेर उदाहरण प्रस्तुत गर्न सुझाव दिनुभयो ।
एक जना सहसचिवमाथि अख्तियारले छानबिन गरिरहेकाले सोही विषयलाई आधार बनाएर गृहमन्त्रीको राजीनामा माग गर्नु सान्दर्भिक नहुने उहाको भनाइ छ ।












