एसियाली विकास बैंकका अध्यक्ष नेपालमा, प्रधानमन्त्री बालेनसँग भेट्ने

खबर बुक
  • ख-
  • ख+

२२ असार, काठमाडौं । एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डा दुई दिने भ्रमणका लागि नेपाल आएका छन् । आइतबार राति १० बजे काठमाडौं आइपुगेका अध्यक्ष कान्डालाई अर्थसचिव घनश्याम उपाध्यायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

सोमबार र मंगलवार नेपालमा रहने अध्यक्ष कान्डाले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो । प्रधानमन्त्री शाहसँग उनले मंगलवार भेटघाट गर्ने अर्थ मन्त्रालय स्रोतको भनाइ छ ।

शाह प्रधानमन्त्री भएपछि पहिलोपटक विदेशी पाहुनासँग औपचारिक भेट गर्न लागेका हुन् । संसारकै ठूलो बहुपक्षीय बैंक एसियाली विकास बैंकका अध्यक्षलाई सरकार प्रमुख सरहको मर्यादा दिने गरिएको छ । गत महिना एडिबी अध्यक्ष बंगलादेश भ्रमणमा जाँदा त्यहाँका अर्थमन्त्रीले विमानस्थलमा स्वागत गरेका थिए ।

एडीबी अध्यक्ष कान्डासँग अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलगायत उच्चपदस्थ सरकारी अधिकारीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले बतायो । अर्थमन्त्री वाग्लेले काण्डासँग सोमबार दिउँसो ३ बजे भेट गर्ने छन् । उनले नेपालमा रहँदा एडीबीको सहयोगमा निर्माण भएका विभिन्न विकास परियोजनाको भ्रमण पनि गर्ने कार्यक्रम छ ।

साथै, काण्डाको नेपाल भ्रमणका क्रममा भन्सार तथा पारवहन र खानेपानी तथा ढलनिकाससम्बन्धी दुई सहयोगमा हस्ताक्षर पनि हुने जानकारी अर्थ स्रोतले दियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्