काठमाडौँ : पार्टीको १५ औँ महाधिवेशनका लागि सदस्यता अद्यावधि नगरी किचलो निकालिरहेको नेपाली कांग्रेसको खड्का समूहको बैठकमा नेता पूर्णबहादुर खड्काले आफू र शेखर कोइरालासहित १ सय ११ जनालाई नै केन्द्रीय समितिमा समायोजन गर्न प्रस्ताव गरेको बताए।
विशेष महाधिवेशनबाट निर्वाचित समितिले निर्वाचन आयोग र सर्वोच्च अदालतबाट मान्यता पाएसँगै १५ औँ महाधिवेशनको तयारीमा छ। त्यसका लागि सदस्यता अद्यावधि गराउन महाधिवेशनबाट निर्वाचित कार्यसमिति सक्रिय छ। तर विशेष महाधिवेशनको विपक्षमा रहेको समूहले भने सदस्यता अद्यावधिक विषयमा किचलो गर्दै समानान्तर गतिविधि गरिरहेको छ।
सोमबारको गुटगत बैठकमा नेता खड्काले आफूहरू अहिले डा. शेखर कोइरालासहित १ सय ११ जनाको समूहमा रहेको र ती सबैलाई केन्द्रीय कार्यसमितिमा समायोजन गर्न विशेष महाधिवेशनबाट निर्वाचित समितिका पदाधिकारीलाई प्रस्ताव गरेको जानकारी गराएका थिए।
बैठकमा नेता खड्काले पार्टीभित्र उठेको सातबुँदे प्रस्तावको जवाफ आफूले उपसभापति विश्वप्रकाश शर्मालाई बुझाइसकेको जानकारी गराएका थिए। आफूहरूलाई उपसभापति शर्माले ह्वाट्सएपबाट प्रस्ताव पठाएकाले आफूहरूले पनि ह्वाट्सएपबाटै प्रस्ताव पठाएको उनले बैठकमा जानकारी गराएको एक नेताले बताए।
उनले आफ्नो प्रस्ताव अन्तिम भएको जानकारी गराएपछि उपसभापति शर्माले सभापति गगन थापालाई यसबारे जानकारी गराउने बताएका थिए। बैठकमा उनले आफू र शेखरलाई पार्टीको वरिष्ठ नेतामा मनोनीत गर्नेबारे शर्माले जानकारी गराएको तर आफूले पर्दैन भनेको दाबी गरेका थिए।










