काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा.भोला थापाले पदभार ग्रहण गरेका छन् ।
नवनियुक्त उपकुलपति प्रा.डा.थापाले आज सोमबार त्रिवि उपकुलपति कार्यालयमा नै पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै उपकुलपति थापाले सबैको समन्वय र सहकार्यबाट आफू अघि बढ्ने बताए थापाले भने, ‘जुन विश्वासले मलाई सरकारले यहाँ पठाएको छ । सबैसँगको समन्वय र सहकार्यबाट म अघि बढ्नेछु । तपाईंहरूले राम्रो गरिरहनुभएको छ । ’
उनले आफूले उच्च शिक्षाको सुरुवात यही विश्वविद्यालयबाट गरेको भन्दै विश्वविद्यालयलाई उत्कृष्ट बनाउन लागिपर्ने बताए । प्रा.डा.थापाले भने, ‘यहाँहरूले मलाई कहिल्यै पनि बाहिरबाट आएको नसम्झिदिनुहोला । उच्च शिक्षाको सुरुवात त्रिविबाटै गरेको हुँ । सेवाको क्रममा काठमाडौँ विश्वविद्यालयमा आबद्ध भए । देशको उच्च शिक्षाको मुख्य जिम्मेवारी त्रिविलाई छ । तपाईंहरुसँगै म पनि जिम्मेवारी लिन आएको छु । हाम्रो प्रतिस्पर्धा यहाँ भएका विश्वविद्यालयसँग होइन । संसारसँग गर्नुपर्छ ।’










