प्रतिनिधिसभा बैठक बस्ने कार्यसूची, राजनीतिक दलबीच सहमति नहुँदा अवरोधको आशंका

खबर बुक
  • ख-
  • ख+

२८ जेठ, काठमाडौं ।संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्ने गरी बोलाइएको छ।

‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता दाबी गर्दै मुख्य प्रतिपक्षी नेकपा माओवादी केन्द्रलगायतका दलले लगातार बैठक अवरुद्ध गर्दै आएका छन्। 

जेठ १३ देखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ। पटक–पटक सहमतिका लागि दलहरुबीच छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेको छैन।

आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुने कार्यसूची छ।

प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसदको बैठक पछिल्ला दिनमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्